जुम्लामा ४१ हजार बढीलाई कोरोनाविरुद्धको खोप लगाइने 

फाइल तस्वीर
फाइल तस्वीर

जुम्लामा १८ वर्षमाथिका ४२ हजार नागरिकलाई कोरोनाविरुद्धको खोप लगाइने भएकाे छ। आगामी ९ असोजदेखि जुम्लामा १८ वर्षमाथिका ४१ हजार ६ सय ७६ जनालाई खोप लगाउने लक्ष्य रहेको जनस्वास्थ्य सेवा कार्यालय जुम्लाका प्रमुख कृष्ण सापकोटाले बताए।

'जुम्लाको कुल जनसंख्याको ३३ प्रतिशतलाई खोप लगाउने सरकारको निर्देशनअनुसार १८ वर्षमाथिका ४१ हजार बढीलाई कोरोनाविरुद्धको खोप दिन लागिएको हाे,' उनले भने, 'पहिलो खोप लगाएकालाई दोस्रो डोज र नलगाएकालाई पहिलो डोज दिइनेछ। आवश्यकताका आधारमा स्वास्थ्यकर्मी, स्वयंसेविका, शिक्षक, युवालाई परिचालन गरिनेछ।'

उनका अनुसार खोप अभियान जुम्लामा ९ असोजबाट सुरु हुनेछ। ८ स्थानीय तहमा २ चरणमा खोप लगाइनेछ। तालिम प्राप्त स्वास्थ्यकर्मीसहित जुम्लामा ५ सय ४७ जना स्वयंसेविका परिचालन हुनेछन् भने प्रत्येक पालिकामा खोप केन्द्र राखिनेछ।

१८ वर्षमाथिका सबैले खोप लगाउने भएकाले कोही नछुटुन् भन्ने उद्देश्यले प्रचार–प्रसारमा जोड दिन जरुरी रहेको सापकोटाको भनाइ छ। जिल्लाभरका कर्णाली प्रतिष्ठान र ३० स्वास्थ्य चौकीसहित ३२ खोप केन्द्रबाट खोप दिइनेछ।

प्रत्येक पालिकाको एक स्वास्थ्य चौकीलाई व्यवस्थापन केन्द्रका रूपमा तोकिनेछ। हाल जुम्लामा ४१ हजार ७ सय ४० डोज खोप आइपुगेको स्वास्थ्य कार्यालयले जनाएको छ। जुम्लामा २४ हजार ६ सय ४८ जनाले खोप लगाएका छन् भने १९ हजार ८ सय ४७ जनालाई पूर्ण खोप अर्थात् दोस्रो मात्रा दिइसकिएको छ।

प्रमुख जिल्ला अधिकारी विजयाप्रसाईंले सबै नागरिकलाई खोपको पहुँचमा पुर्‍याउने सरकारको लक्ष्य सफल पार्न सबैको सहयोग आवश्यक भएको बताइन्।

प्रकाशित मिति: : 2021-09-23 15:59:00

प्रतिकृया दिनुहोस्