राष्ट्रिय फुटबल टिमका फरवार्ड विमल घर्ती मगर प्रशिक्षणमा फर्किएका छन्। घुँडाको चोटबाट मुक्त भएसँगै विमल प्रशिक्षणमा फर्किएका हुन्।
प्रशिक्षणको दौरानमा विमलको घुँडामा चोट लागको थियो। गत मार्चमा कतारमा शल्यक्रियापछि उनी चोट मुक्त भएका छन्। उनको दायाँ घुँडाको लिगामेन्ट च्यातिएको थियो।
कतारबाट फर्किएपछि विमलले यू–२३ टोलीसँग प्रशिक्षण सुरु गर्ने अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ। उज्वेकिस्तानमा सन् २०२२ मा आयोजना हुने एएफसी यू–२३ एसियन कप छनोटका लागि नेपालले प्रशिक्षण गरिरहेको छ।
मुख्य प्रशिक्षक बाल गोपाल महर्जनको नेतृत्वमा जारी प्रशिक्षणमा विमल सामेल भएका हुन्। एन्फाको अनुशासनको कारबाहीमा परेपछि विमलले लामो समयदेखि राष्ट्रिय टिमबाट खेलेका छैनन्।
एन्फाको कारबाही फुकुवापछि उनी राष्ट्रियमा फर्किएका थिए। तर, चोटको कारण उनी टिम बाहिर रहदै आएका छन्।