‘माधव नेपालसँग नउभिँदा मेरै परिवारले पनि आश्चर्य मानेको छ’

अनलाइनखबर

काठमाडौँ

 रघुजी पन्त, पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले असाध्यै विश्वास गर्ने नेताहरुमध्ये पर्छन्। अहिलेसम्म साथ दिएका पन्तले माधव नेपालले एमाले विभाजन गरेर नेकपा एकीकृत समाजवादी बनाउँदा भने साथ दिएनन्।

धेरैका लागि यो आश्चर्यजनक थियो। पन्तका अनुसार नेता नेपालले नयाँ पार्टीमा आउन मात्र होइन, महासचिवको जिम्मेवारी लिन प्रस्ताव गरेका थिए। तर उनी पार्टी विभाजनको पक्षमा उभिन तयार भएनन्, बरु अहिलेसम्म आफूले साथ दिएका नेता नेपालसँग अलग हुने निर्णय लिए।

‘कहिलेकाहीँ एक्लै सोंच्छु, माधव नेपाललाई साथ नदिएर ठीक गरेँ कि बेठीक ? माधवसँग उभिनुपर्थ्यो कि पर्थेन ?’ नेता पन्त भन्छन्, ‘तर उभिइनँ।’

राजनीतिको यो यात्रामा साथ नदिएपनि सदाकालका लागि माधव नेपालसँग छुट्टिएकै भनेर बुझ्न नहुने उनले बताए। पन्त भन्छन्, ‘यो पार्टीलाई एकताबद्ध बनाउनुपर्छ। माधव नेपाल, झलनाथ खनाल र वामदेवहरुलाई ल्याउनुपर्छ।’

प्रस्तुत छ, एमाले नेता पन्तसँग राजकुमार श्रेष्ठ र सइन्द्र राईले गरेको कुराकानीको सम्पादित अंश :

दशबुँदे सहमति गरी नेकपा एमालेमै बस्ने तपाईंसहितका नेताहरुको राजनीतिक करिअर सकिएको टिप्पणी गर्ने धेरै देखिन्छन्। एमालेमै बस्नु ठीक भन्ने औचित्य कसरी पुष्टि गर्नु हुन्छ ?

हामीले व्यक्तिको राजनीतिक भविष्य होइन, मुभमेन्ट (वाम आन्दोलन) सोचेको हो। वाम आन्दोलनको भविश्यबारे सोचेको हो। हामीले माधव कमरेडलाई बारम्बार आग्रह गर्‍यौं–विभाजनमा नजाऔं।

तीन/चार चोटी व्यक्तिगत रुपमा भेटेर पनि भनेँ– पार्टीभित्रै बसौं, लडौं। विभाजनमा जानु देश, जनता र मुभमेन्टका लागि उपयुक्त हुँदैन भन्ने व्यक्तिगत विचार राखेँ। तथापि, उहाँ (माधव) ले अलग पार्टी बनाउनुभयो। हामी एमालेमै बस्यौँ। तर, हामीले विचारसँग सम्झौता गरेको होइन। स्थायी कमिटी र केन्द्रीय कमिटी बैठकमा मैले आफ्नो विचार प्रष्ट राखेँ।

प्रकाशित मिति: : 2021-09-30 08:00:00

प्रतिकृया दिनुहोस्