‘म ढलेको यहीँनेर हो,’ त्रिभुवन विश्वविद्यालय परिसरमा रहेको क्रिकेट मैदान छिर्ने गेट देखाउँदै उपप्राध्यापक प्रेमबहादुर चलाउनेले वर्ष दिन पुरानो घटना सम्झिए। २० असोज २०७७ मा समाजशास्त्र विभागका उपप्राध्यापक चलाउनेमाथि विश्वविद्यालयकै केही विद्यार्थीले हमला गरेका थिए।
नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) का विद्यार्थीको आक्रमणबाट बेहोस बनेका चलाउनेको दाहिने खुट्टा भाँचियो। झण्डै वर्षदिन उनले वैशाखीको साहारा लिनुपर्यो। अहिले वैशाखी नचाहिए पनि मच्चिएर हिँडडुल गर्न सक्दैनन्। शिरदेखि पैतालासम्म चोटपटकका खत अझै छन्। मनभित्रका पीडाका खत त देखिए पो !
विश्वविद्यालयले समाजशास्त्र विभागको प्रमुखमा डा. युवराज लुइँटेललाई नियुक्त गरेपछि नेविसंघको एक समूहले विरोध जनायो। लुइँटेलको नियुक्ति खारेज गर्नुपर्ने भन्दै उक्त समूहले विभागमा १ भदौदेखि ताला लगाइदियो। वरिष्ठताका आधारमा लुइँटेललाई नियुक्त गरिएको विश्वविद्यालयको तर्क थियो।