एनआरएनएका कोषाध्यक्ष श्रेष्ठद्वारा आइसिसि उपाध्यक्षमा टिम कुलबाट उम्मेदवारी घोषणा

गैरआवासीय नेपाली संघ एनआरएनएका कोषाध्यक्ष महेश श्रेष्ठले आगामी आइसिसि अधिवेशनमा टिम कुल आचार्यबाट उपाध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका छन्।

एनआरएनएमा सफल कोषाध्यक्षको परिचय बनाउन सफल श्रेष्ठले आफूले कुल आचार्यको घोषणा पत्रलाई समर्थन गर्दै उक्त समुहबाट उपाध्यक्षमा उम्मेदवारी दिएको बताए।

टिम बद्रीले पनि उम्मेदवारको सूचीमा राखेका श्रेष्ठले आफूले कुल आचार्यलाई नै समर्थन गर्दै उक्त समुहबाट नै उम्मेदवारी दिने घोषणा गरेपछि टिम बद्रीमा खैला बैला भएको छ।

टिम बद्रीले उम्मेदवारको सूचीमा राखेका श्रेष्ठ,कोषाध्यक्षको उम्मेदवार लोक दाहाललगायतले कुल आचार्यको घोषणा पत्रलाई समर्थन गर्दै उक्त समुहबाट उम्मेदवारी घोषणा गरेपछि मंगलबार हुने भनिएको केसी समुहको घोषणा सभा प्रभावित हुने देखिएको छ।

श्रेष्ठले कोषाध्यक्षमा रहँदा संघको सचिवालयमार्फत हुने सम्पूर्ण आर्थिक हिसाब किताब पारदर्शी ढंगले ३–३ महिनामा सार्वजनिक गर्दै आएका थिए।श्रेष्ठले हरेक तीन–तीन महिनामा संघको आर्थिक प्रतिवेदन सार्वजनिक गर्दै एनआरएनए वृत्तमा सकारात्मक सन्देश दिएका थिए।

श्रेष्ठको कार्यकालमा भएको हिसाब अहिले पनि एनआरएनएका सदस्यले वेवसाइटमार्फत हेर्न सक्ने व्यवस्था गरिएको छ। श्रेष्ठले दुई वर्षअघि कोषाध्यक्ष पदमा उम्मेदवारी दिँदा संघको आर्थिक व्यवस्थापनलाई पारदर्शी बनाउन गरेको प्रतिबद्धता उनले पुरा गरेका छन्।

कोषाध्यक्षमा निर्वाचित भएपछि डीडीए प्रतिवेदन तयार पारेर पास हुन नसकेको संघको आर्थिक प्रतिवेदनलाई विशेष महाधिवेशनमार्फत पास गराएर श्रेष्ठले सफलता हात पारेका थिए।

श्रेष्ठले हरेक तीन–तीन महिनामा संघको सम्पूर्ण वित्तिय कारोबार सार्वजनिक गर्ने सिस्टम बसालेर आर्थिक प्रतिवेदनलाई चुस्त दुरुस्त बनाएका हुन्। श्रेष्ठ जापान र नेपालका सफल व्यवसायी समेत हुन्।

उनीसँग ठूला परियोजनामा काम गरेको धेरै अनुभवसमेत रहेको छ। शालीन र भद्र स्वभावका श्रेष्ठ आर्थिक मामिलामा निकै कडा मानिन्छन्। उनीसँग नेपाल सरकारले गठन गरेको वैदेशिक लगानी समन्वय तथा अनुगमन समितिमा सदस्य भएर काम गरेको अनुभव समेत रहेको छ।

संघको वित्तिय सुधारमा धेरै काम गरेका श्रेष्ठको उपाध्यक्ष पदका लागि उम्मेदवारी दिने निर्णयको सबैले सकारात्मक रुपमा लिएका छन्।

हाइड्रो, बैंकिङ, रेमिट्यान्स, कृषि, आइटी, इन्सुरेन्स, आयात–निर्यात, भौतिक पूर्वाधारलगायत विभिन्न व्यवसायिक क्षेत्रमा संलग्न श्रेष्ठको अनुभव एनआरएनएका लागि महत्वपूर्ण रहेको एनआरएनए अभियन्ताहरु बताउँछन्।

विगत लामो समयदेखि एनआरएनएमा आवद्ध भएर आफ्नो उर्जा र ज्ञान बाँड्न उपाध्यक्ष पदमा उम्मेदवारी दिने निर्णय गरेको श्रेष्ठले बताए। उनले आफ्नो अभियानलाई सबै गैरआवासीय नेपालीले साथ दिने आशा व्यक्त गरे।

श्रेष्ठ जापानस्थित सिटी एक्सप्रेस मनि ट्रान्सफरको कार्यकारी निर्देशक (सीइओ), तोनान कम्पनीका अध्यक्ष, सीटी एक्सप्रेस कनेक्टमा निर्देशक, सिटी ट्राभल एण्ड टुरका निर्देशक, एभरेष्ट इन्टरनेसनल स्कुल जापानको प्रमोटर एवं सल्लाहकार, सीई ह्युमन रिसोर्सेज कम्पनी लिमिटेडको डाइरेक्टर तथा एसबिआई सिटी एक्सप्रेस ग्लोबलको निर्देशक समेत हुन्।

श्रेष्ठले आफ्नो अभियानलाई साथ दिई आफूलाई उपाध्यक्षमा विजयी गराउन सबै एनआरएनएका सदस्यहरुलाई आग्रह गरेका छन्। उनले आफुलाई विजयी गराएमा सबैसँग सहकार्य गरेर अगाडि बढेर आफुलाई विश्वास गरेकाहरुलाई धोका नदिने बताए। श्रेष्ठले कुल आचार्यको प्रजातान्त्रिक समावेशी समूहबाट उम्मेदवारी घोषणा गरेका छन्।

प्रकाशित मिति: : 2021-10-04 16:45:00

प्रतिकृया दिनुहोस्