नवरात्रि पर्व : साधना र सद्वृत्ति जागरणको सन्देश

हिन्दू संस्कृति शक्ति पूजक संस्कृति हो। हामी शक्तिलाई माताको रूपमा पुज्ने गर्छौँ। हिन्दू चिन्तनले भन्छ, माता सृष्टिको अणु–परमाणुकी जननी हुन्। प्रत्येक जीवकी आदि अनुभूति पनि आमा नै हुन्। आमाकै देहको विस्तार नै हामी सबैको काया हो। हामी सबैको अस्तित्व आमाकै कारण छ। आमा नहुनु हो भने हामी पनि हुने थिएनौँ।

आमा स्वाभाविक नै दिव्य छिन्, देवी हुन, पूज्य छिन्। व्यष्टि, समष्टि, सृष्टि र परमेष्टिकै रूपमा आमा वरेण्य छिन्। उनी पूजनीय छिन्, नीराजन र आराधनाको योग्य छिन्। सबै लोक, वनस्पति जगत्, कीट–पतंग र समस्त प्राणी आमाकै विस्तार हुन्। आमा धातृ हुन्, आमा दातृ हुन्– सृष्टि, स्थिति र पुनःरचनाका निम्ति संहारकारिणी पनि आमा नै हुन्।

जीवनमा आउने सुख–दुःख रूपी घुम्तिहरूमा हामी सधैँ आमाकै आशिष्, आमाकै छाँया पाउँदै हुन्छौँ, अनि जब मन–प्राण व्याकुल हुन्छ हामी आमालाई नै खोज्छौँ। क्षणक्षणमा र कणकणमा हामी आमालाई खोज्दै हुन्छौँ। अनि पाउँछौँ उनको उपस्थिति गुफा–कन्दरा, जल–थल, शैल–शिखरमा, सबै जीवहरूमा। तिनै माता शक्ति दिव्य ऊर्जा बनी हामीमा पनि प्रवाहमान छिन्। उनैको स्फुरणा मात्रले हाम्रा शारीरिक–मानसिक उपकरण सजीव छन्, चलायमान छन्। 

प्रकाशित मिति: : 2021-10-07 10:24:00

प्रतिकृया दिनुहोस्