प्रदेश विकासका लागि निजी क्षेत्रको साथ आवश्यक : मुख्यमन्त्री शाही

File photo
File photo

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णाली प्रदेश विकासका लागि निजी क्षेत्रको साथ आवश्यक रहेको बताएका छन्।    

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा रु २२ करोडमा निर्माण भएको ‘कर्णाली मल’ को आज उद्घाटन गर्दै मुख्यमन्त्री शाहीले निजी क्षेत्रको लगानीबाट मल निर्माण हुनु प्रशंसनीय कार्य भएको विचार व्यक्त गरे। 'सरकारको एक्लो प्रयासले विकास र समृद्धि असम्भव छ”, उनले भने, 'यसका लागि निजी क्षेत्रको सहयोग अपरिहार्य छ।' 

मुख्यमन्त्री शाहीले सडक निर्माण गर्नु मात्रै विकास हो भन्ने बुझाई नागरिकमा व्याप्त रहेको जनाए। रोजगारीसहितको व्यापारिक योजनाबाट आम नागरिकमा सन्तुष्टि दिनु र आर्थिक गतिविधि बढाउनु पनि विकास होे भन्ने बुझ्न सुझाउँदै उनले कर्णालीमा विभिन्न क्षेत्रमा लगानी गर्ने लगानीकर्तालाई अनुकूल वातावरण तयार गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताए। 

निजी क्षेत्रबाट सञ्चालनमा ल्याइएको यो प्रदेशकै पहिलो ‘कर्णाली मल’ को प्रारम्भमा ५० जना युवालाई रोजगारी दिएको मलका प्रबन्ध निर्देशक सुशील शर्माले बताए। 

कर्णालीको सापेक्षतालाई अध्ययन गरी यहाँका नागरिकलाई सस्तो मूल्यमा गुणस्तरीय सामान उपलब्ध गर्ने र दशवटै जिल्लामा सुविधा सम्पन्न कम्प्लेक्स बनाएर स्थानीय उत्पादनलाई व्यवस्थापन गर्ने उद्देश्यले मल सञ्चालनमा ल्याइएको प्रबन्ध निर्देशक शर्माले जनाए। 

उनका अनुसार दसैँ तिहारलाई लक्षित गरेर खाद्य वस्तुमा दुई र लत्ताकपडालगायत अन्यमा १०–१५ प्रतिशत छुट दिइएको छ। मलले विद्युतीय सामग्री, भाँडाकुँडा, लत्ताकपडा, सबै प्रकारका खेलौना बिक्रीवितरणका साथै उपभोक्ताका लागि होटल पनि सञ्चालन गरेको छ। 

प्रकाशित मिति: : 2021-10-07 21:17:00

प्रतिकृया दिनुहोस्