के महिलाहरू पुरूषकाे ‘प्यास’ मेटाइदिने पात्र मात्रै हुन् त ?

photo: Shutterstock
photo: Shutterstock

सामान्यतया महिला र पुरुष बराबर हुन्, भन्ने गरिन्छ। दुबैको समान अधिकार छ भनिए पनि व्यवहारमा लागू भने हुन सकेको छैन। विश्वका विकसित भनिएका मुलुकमा पनि अझै दैनिक महिला हिंसा भएको घटनाहरू सार्वजनिक हुने गर्दछन्।

पितृसत्तात्मक सोच हावी भएको नेपालमा पनि महिला र पुरुषबीच ठूलो विभेदको खाडल अझै छ। नेपालमा सामाजिक, आर्थिक, शैक्षिक, राजनीतिक, प्रशासनिक लगायतका सबै क्षेत्रमा पुरुषको तुलनामा महिलाहरूको सहभागिता अझै न्यून छ। त्यसहिसाबमा पनि महिला पुरुषभन्दा पछि परेको देखिन्छ।

पहिलाको तुलनामा केही कम भए पनि पूर्णरूपमा महिला स्वतन्त्र भने भइसकेको अवस्था छैन। परम्परागत रुपमा चलिआएको भेदभाव, छिटो विवाह, छोराप्रति बढी महत्वकांक्षी, समाजको मूल्य, मान्यता र पुराना रुढिवादी सोचाइका कारणले गर्दा पनि महिला पुरुष सरह हुन सकेका छैनन्।

लैंगिक भिन्नताका कारण लैंगिक असमानता, साधन र स्रोतको अवसरमा कमी भएको कारण महिलाको स्तर निकै पछाडि परिरहेको छ। तर, महिलाको हकहितको लागि काम गर्ने संस्थाहरू पनि कम छैनन्। साथै नेपालको संविधानमा समेत महिलासम्बन्धी हक सुनिश्चित गरिएको छ। त्यस्तै अन्तर्राष्ट्रियस्तरमा पनि नारीलाई पुरुषसरह हरेक क्षेत्रमा समानता हुनुपर्छ भन्ने उद्देश्यका साथ विभिन्न नारी सम्मेलनहरू भइरहेको पाइन्छ। त्यस्ता संघ संस्थाहरुले पनि व्यावहारिक र भरपर्दो रूपमा प्रभाव पार्न सकेका छैनन्।

महिला शारीरिक र शक्तिका दृष्टिले पुरुषभन्दा कमजोर हुन्छन्, भन्ने सोच हावी हुनाले पनि पुरुषप्रधान समाजले उनीहरूलाई चोलोचौका सिमित गराएका छन्। नेपालमा महिलाप्रति विगत सयौँ वर्षदेखि विभेदमूलक कार्यहरू हुँदै आएका छन्।

यी हुन् विगत सयौँ वर्षदेखि महिला र पुरुषमा हुने विभेदहरू:

महिलाले पतिको मृत्युपछि सती जानुपर्ने तर पुरुषले जानु नपर्ने। विसं १९७७ असार २५ गते चन्द्र शमशेरले सतीप्रथा पूर्णरुपमा उन्मूलन भएकाे घाेषण गरेका थिए। त्यसयता धेरै महिलाले जीवन पाए। तर, पनि हाम्रो समाजमा महिलामाथि हुने विभेद कायमै छनः 

– श्रीमतिकाे मृत्युपछि पुरुषले अर्की श्रीमती ल्याउन पाउने, तर महिलाले सहनुपर्ने।

– महिलालाई सन्तान पैदा गर्ने साधनको रूपमा मात्रै लिने।

– अचल सम्पत्ति पुरुषको नाममा मात्रै दर्ता हुने तर महिलाको नाममा नहुने। (हाल भने यसमा केही सुधार भएको छ।)

– बुबाको नाममा मात्र नागरिकता लिन पाउने।

– महिनावारी हुँदा अलग्गै बस्नुपर्ने बाध्यता। (हाल पनि कायमै)

– महिलाले बालबच्चाहरूको हेरचाह गर्नुपर्ने, चुलोचौकामा सिमित हुनुपर्ने, वस्तुभाउ हेर्ने, खेती गर्ने, सासुससुरा,श्रीमानकाे सेवा गर्नुपर्ने। यस्ता कामहरूमा पुरुषहरूको उपस्थिति भए पनि सहभागिता कम देखिन्छ। 

धेरैजसो परिवारहरूमा, अहिले पनि महिला परिवारका सम्पूर्ण पुरुष सदस्यहरूले खाना खाइसकेपछि मात्र खाना खाने चलन छ। यो पनि महिलाप्रति एक प्रकारको विभेद हो।

सुदूरपश्चिमका दुर्गम जिल्लाका नवविवाहित बुहारीहरू अझै पनि मध्ययुगीन दासप्रथाको जस्तै परिवेशमा जीवनयापन गरिरहेका छन्। शिक्षामा पनि विभेद कायमै छ। छोरालाई स्कुलमा पठाउने तर छोरीलाई घरको काममा लगाउने। त्यस्तै, तराईमा छोरालाई निजी स्कुलमा र छोरीलाई सरकारी स्कुलमा पढाउने। विभिन्न कलकारखाना र उद्योगहरूमा पनि महिलाहरूलाई निम्नस्तरको पारीश्रमिक दिनु इत्यादी।

असमान व्यवाहार 

छोरी भएर जन्मेकै आधारमा आफ्नै अभिभावकबाट मारिनुपरेका मुटु बिज्ने खबरहरू सुन्न र पढ्न पाइन्छ। आशा गरेजति दाइजो नपाएकाले केटा पक्षका परिवार, छिमेकी या केटा आफैंले महिलामाथि शारीरिक तथा मानसिक हिंसा मात्रै होइन। एउटा नवबिबाहित महिलाको हत्या नै गरेका समाचारहरू सुन्न र पढ्न पाइन्छ। कामका सिलसिलामा यात्रा गर्दा या कार्यालयमा ढिलासम्म काम गर्नुपरेका कारण घर आउन ढिलो हुँदा महिलालाई थाकेकी हौली भनेर सहानुभूति दिनुको सट्टाे उनको चरित्रमाथि प्रश्न उठाई शारीरिक तथा मानसिक हिंसा गरेका कैयौं घटना हामीले सुन्दै र पढ्दै आएका छौं। बाहिर नआएका यस्ता घटनाहरू अझ कति होलान्।

अशक्त र कमजोर भएरभन्दा पनि लैंगिक भेदभाव र असमानतापूर्ण सामाजिक सोच र संस्कारका कारण पनि ती पीडित भएका छन्। तर, त्यसबारे जानकार भए पनि निःस्वार्थपन, आफ्नो खानदानरपरिवार, बुबा, आमा र दाजुभाइहरूको ‘इज्जत’ राख्ननका लागि पीडायुक्त जीवनसँग सम्झौता गर्ने निर्णयका कारण महिलाहरु पीडित बन्ने गरेका छन्।

किन बढ्दैछ महिला हिंसा ?

पछिल्लो समयमा बलात्कार र महिला हिंसाका घटनाहरु दिनप्रतिदिन बढिरहेको छ। तीन वर्षीया बालिकादेखि ७०-८० वर्षका वृद्व बलात्कृत भएका समाचारहरु सार्वजनिक हुने गर्छन्। यस्ता किसिमका घटनाहरू सार्वजनिक भएसँगै नेपालमा महिला हिंसा बढेको देखिन्छ। छोरालाई हुर्काउँदा महिला पनि मानव हो भनेर सिकाउँनुपर्छ। महिलाहरू कमजोर हुन्छन्, विवाह गरेर ल्याउने जात हो अनि हामीले भनेको मान्नुपर्छ र हामीभन्दा तल हुनुपर्छ भन्ने कुरा विकास हुँदै जाँदा यस्तो अवस्था सिर्जना हुने विज्ञहरु बताउछन्।

बलात्कार, महिलामाथि हुने घटनाका दोषी, अपराधीलाई कारबाही र कानुनको कार्यान्वयनका लागि विभिन्न संघ संस्थाहरुले सरकारमाथि दबाव, र्याली, धर्नाहरु गर्छन् तर, अनुसन्धान र अपराधी पहिचान हुन् नसक्दा पिडीत थप मारमा परेका हुन्छन्।

पुरुषत्व, लैंगिक विभेद र हिंसा

पुरुष छाती फुलाएर, ठाडोशिर गरेर हिँड्दा हामीले नजानिँदो पाराले लैंगिक भेदभावलाई स्थिर बनिरहन सहयोग पुर्‍याइराखेका हुन्छौं। यदि तपाईं–हामी सामाजिक न्याय, लैंगिक समानता, बलात्कारपछि हत्या, छोरी, बुहारी र आमाहरूप्रति भेदभावपूर्ण व्यवहारका साथै श्रीमतीमाथि मानसिक–शारीरिक हिंसा र हत्यालाई अन्त्य गर्न चाहन्छौं भने पुरुषवादी सोचाइ त्याग्नैपर्छ। आमाबुबा छोरीका लागि पनि, छोराका लागि पनि समान बन्नैपर्छ। महिला र पुरुषको बीचमा कामको प्रकृति र आकृति नहेरी बराबर हैसियतको व्यवहार गर्नु पर्दछ।

समग्रमा महिलालाई सम्मानजनक व्यवहार गर्नु भनेको उनको आत्मसम्मानको कदर गर्नु हो। महिलालाई आदार-सम्मान गर्नु आमाप्रतिको अगाध माया र दिदी–बहिनीप्रतिको आदर र माया हो।

महिलाकाे पक्षामा भएका केही उपलब्धी

विगतकाे तुलनामा अहिले महिलाहरूको स्तर उल्लेखनीय मात्रामा सुधार भएको छ। महिलाहरूको शैक्षिक गुणस्तरदेखि सबै क्षेत्रमा उल्लेखनीय सुधार भएको पाइन्छ। भनिन्छ, एउटी महिला शिक्षित भए परिवार नै शिक्षित हुन्छन्। त्यस्तै गरी स्वास्थ्य अवस्थामा पनि विगतको तुलनामा महिलाको स्वास्थ्य स्थितिमा सुधार आएको विभिन्न अध्ययन, अनुसन्धानले देखाएको छ।

सती प्रथाको उन्मूलन भएसँगै नेपालमा अधिकार र स्वतन्त्रताको लागि धेरै कार्यहरू भएका छन्। जसको परिणाम धेरथोर परिवर्तन भएको देख्न सकिन्छ। अहिले नेपालमा ठूलो संख्यामा महिलाहरू शिक्षित भएका छन्। पुरुषसरह विभिन्न पेसा, व्यवसायमा खुलेर काम गरेको पाइन्छ। महिला पछिल्लो समय पुरुष सरह निजी तथा सरकारी संघ,संस्थामा जागिरे पनि भएका छन्। 

पुरातनवादी सोच र पुरुषवादी मानसिकतालाई भित्रि हृदयबाट नपखालेसम्म नारी मुक्ति सम्भव छैन। महिलामाथि हुने यातना, हिंसा, बालिका भ्रुणहत्या, बलात्कार, बालविवाह, बहुविवाह, अपहरण, बेचबिखन, महिलाहरूमा आइपर्ने कठिनाइबारे चेतना जगाउन, महिला अधिकारलाई विश्वव्यापी बनाउन, महिलाहरूप्रति गरिने सबै प्रकारका भेदभाव अन्त्य गर्नका लागि संयुक्त राष्ट्र संघीय महासभाद्वारा महिलाविरुद्व भेदभाव उन्मूलन महासन्धि पारित गरिएको छ। तर, यसले मात्र समस्याको समाधान भने पक्कै हुँदैन।

पुरातनवादी सोचमा परिवर्तन र पुरुषवादी मानसिकतामा परिवर्तन हुनसके मात्र महिला पुरुषले समानताको महशुस गर्न सकिन्छ।

प्रकाशित मिति: : 2021-10-08 20:13:00

प्रतिकृया दिनुहोस्