दीपक पराजुलीको उपन्यास ‘मिथ्या’ सार्वजनिक भएको छ। एक कार्यक्रमबीच साहित्यकार सरुभक्त, तीर्थ श्रेष्ठ, गनेस पौडेल र सरस्वती प्रतीक्षाले संयुक्त रुपमा शुक्रबार उपन्यास सार्वजनिक गरेका हुन् ।
किताबारे बोल्दै कवि तथा लेखक सरस्वती प्रतीक्षाले उपन्यासका पात्रहरु यथार्थ र सरल चरित्रका नभई वैचारिक चरित्रका रुपमा आएको बताइन्।
विश्वका मान्छेबीच घट्दै गइरहेको प्रेमलाई पनि मिथ्याले विम्बात्मक ढंगले प्रस्तुत गरेको उनको भनाई छ । पाठकहरु उपन्यास पढ्दा गर्दा रोमाञ्चित बन्ने उनले सुनाइन्।
साहित्यकार गनेस पौडेलले मिथ्याको पात्रले समाजका विभिन्न आयामहरुलाई खोज्ने र भेट्ने बताए।
कवि तथा लेखक तीर्थ श्रेष्ठले पोखराले उपन्यास विधामा लामो यात्रा पार गर्दै यहाँसम्म आइपुगेको जिकिर गरे। साहित्यकार तथा नाट्यकार सरुभक्तले आफूले लेखक पराजुलीलाई यसअघि नाटककारका रुपमा चिने पनि लेखकका रुपमा पनि उत्तिकै अब्बल रहेको बताए।
स्वैर कल्पनामा आधारित मिथ्या उपन्यासको प्रकाशन बुकहिल पब्लिकेसनले गरेको हो। गैरआख्यानमा कलम चलाउदै आएका पराजुलीका यो पहिलो आख्यान हो। लेखन साथसाथै उनी प्रध्यापन र कानुनी पेशामा संलग्न छन्।