मुगु दुर्घटनाः जाे– दसैं मनाउन गाउँ फर्के, घरछेउमै पुग्दा पनि भेट्न पाएनन् बा–आमा

महेश नेपाली

छायाँनाथ रारा

नेपालगञ्जबाट मुगुकाे सदरमुकाम जाँदै गरेको बस मुगुस्थित छायाँनाथ रारा नगरपालिका–७ पिनाटपने खोलामा दुर्घटना भएको छ।

छायाँनाथ यातायात प्रा.लिको भे १ ख ३१६७ नम्बरको यात्रुवाहक बस मंगलबार दिउँसो १२ बजेर २२ मिनेटमा दुर्घटना भएको स्थानीयले बताएका छन्।

क्षमताभन्दा बढी (८० जना) यात्रु बोकेको बस अनियन्त्रित हुँदा सडकबाट झण्डै ७ सय मिटर तल खोल्सामा पुगेको घटनास्थल पुगेका स्थानीय बलराम सहानीले बिएल नेपाली सेवालाई जनाए।

'दुर्घटनास्थलको अवस्था भयाबह छ। मृतकका परिवार र आफन्तहरूको भीड थामिसक्नु छैन। परिवार र आफन्तहरू मृतक सम्झेर रोइकराइँ गरिरहनुभएको छ', उनले भने।

सहानीका अनुसार मृतकको शव मुगु सदरमुकाम लैजान गाडीमा लोड भइरहेको छ। बस पल्टिएको स्थानमा स्थानीयलाई जान सुरक्षाकर्मीले रोकेका छन्। त्यहाँ सुरक्षा फौज मात्रै उद्दारमा खटेको छ।

'दुर्घटना भएको बस धुजा–धुजा परेको छ। दुर्घटना भएकाे स्थान हेर्न सक्ने अवस्थामै छैन। प्रायः यात्रुहरू छायाँनाथ रारा नगरपालिका वडा नम्बर ६, ७, १०, ११ का स्थानीयहरू छन्', सहानीले भने, 'उनीहरू दसैं मनाउन नेपालगञ्जबाट आ–आफ्नो गाउँ फर्केका थिए। तर दुर्भाग्यवस २४ जनाले घटनास्थलमै ज्यान गुमाएका छन्। ती मध्ये ४ जनाले बाटाेमा ज्यान गुमाए।'

घाइतेहरूको उद्दारमा नेपाली सेना, नेपाल प्रहरी, रेडक्रसलगायतका संघ–संस्था जुटिरहेका छन्। बस दुर्घटना भएको ठाउँमा यात्रुहरूको सर–सामान भएका कारण कसैलाई जान दिइएको छैन।

बसमा लगभग ४० वर्षमुनिकै यात्रुहरू सवार रहेकाे बताइएकाे छ। उनीहरू मध्ये धेरूै नेपालगञ्जमा पढ्ने विद्याथीहरू छन्।

दुर्घटनामा मृत्यु भएका २८ मध्ये चार जना छायाँनाथ रारा नगरपालिका ७ वडास्थित एउटै गाउँका छन्। पहिचान हुनेहरूमा सन्तोष बिटालु, पदम बुढा, आषिश शाही र भग बम छन्।

सन्तोषले नेपालगञ्जमा इन्जिनियर पढिरहेका थिए। अरू तीनजना पनि विद्यार्थी नै हुन्। दशैं मनाउन गाउँ फर्केका उनीहरू घरछेउमै पुग्दा बस दुर्घटना भएको हो। सन्तोषले बिहान मात्रै बा–आमासँग फोनमा कुराकानी गरेका थिए। तर, घर नजिकै पुगेका उनले बा–आमा भने भेट्न पाएनन्।

दुर्घटनास्थालबाट सन्तोषको घर पुग्न धेरै समय नै लाग्दैन। बस बिसाैनीसम्मकाे दुरी कम्तिमा ७ सय मिटर रहेको स्थानीय सहानीले बताएका छन्।


[अपडेट] मुगुमा बस दुर्घटना: घाइतेकाे हेलिकप्टरबाट उद्दार गरिँदै


घाइतेको उद्धारमा कुनै कसर बाँकी नराख्न गृहमन्त्रीको निर्देशन

गृहमन्त्री बालकृष्ण खाँणले यात्रुवाहक बस दुर्घटना हुँदा घाइते भएकाहरुको यथाशिघ्र उद्धार गर्न निर्देशन दिएका छन्।

उनले हेलिकप्टरको व्यवस्था गर्न निर्देशन दिएको गृहमन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जानकारी दिए। मन्त्री खाँणको निर्देशन अनुसार नेपाली सेना र समिट एयरको हेलिकप्टर घटनास्थलमा पुगिसकेका छन्।

‘यात्रुबाहक बस दुर्घटनामा घाइते भएकाहरुको तत्काल उद्धार गर्नुहोला। आवश्यक परे हेलिकप्टर पुर्याउनुहोला’, मन्त्रीको निर्देशन उध्रित गर्दै प्रवक्ता पोखरेलले भने, ‘उहाँको निर्देशन अनुरुप हामीले नेपाली सेना र समिट एयरको हेलिकप्टरबाट घाइतेलाई नेपालगञ्ज ल्याइरहेका छौं।’ घाइतेको उद्धारमा कुनै कसर बाँकी नराख्न मन्त्री खाँणले निर्देशन दिएका छन्।

उनले प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रमुखलाई पनि तत्काल उद्धारमा खटिन निर्देशन दिएका छन्।

अहिले घटनास्थलमा जिल्ला प्रहरी कार्यालय मुगुबाट प्रहरी नायव उपरीक्षक चित्रबहादुर भट्टराईको नेतृत्वमा १० जनाको टोली खटिएको छ। भने घटनास्थलबाट एक किलोमिटर दक्षिण पर्ने पिना प्रहरी चौकी मुगुबाट प्रहरी सहायक निरीक्षक जोरासिंह खड्काको नेतृत्वमा टोली घटनास्थलमा पुगिसकेको छ।

जुम्ला मुगु सडकखण्डमा नेपालगञ्जबाट गमगढीका लागि जाँदै गरेको भे १ ख ३१६७ नम्बरको बस २५० मिटर तल खस्दा २१ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। ३९ जना घाइते छन्। ती मध्य १७ जनाको अवस्था गम्भीर भएको गृह मन्त्रालयका प्रवक्ता पोखरेलले जानकारी दिए।

अहिले सुर्खेतबाट नेपाली सेनाको हेलिकप्टर दुर्घटनास्थलमा पुगेर एयरपोर्टसम्म घाइतेलाई ल्याइरहेको प्रवक्ता पोखरेलले जानकारी दिए।

साथै समिट एयरको हेलिकप्टरले पनि घाइतेलाई नेपालगञ्जसम्म ल्याइरहेको प्रवक्ता पोखरेलले बताए।

प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतका अनुसार अहिले प्रहरी टोली र स्थानीयहरु उद्वारका लागि घटनास्थलमा पुगेका छन्। घटनाबारे पूर्ण विवरण आइसकेको छैन।

प्रकाशित मिति: : 2021-10-12 21:39:00

प्रतिकृया दिनुहोस्