साम्बाको दसैँ: चाडपर्वमा भन्दा पनि उपचारमै केन्द्रित

Photo: THT
Photo: THT

हिन्दुहरूको महान् चाड दसैँ घर–घरमा भित्रिएको छ। बडादसैँ हर्षाेउल्लास छाएको छ। आफ्ना इष्ट मित्र, घर परिवारबाट टाढा रहेकाहरूको एकै समयमा भेट हुने पर्वसमेत हो, दसैँ।  महान् चाड दसैंबाट नेपाली खेलकुद क्षेत्र अक्षुतो रहने कुरै भएन। कोरोना महामारीअघि नेपाली खेलाडी कोही स्वदेशमै रमाइलो गर्न व्यस्त हुन्थ्ये भने अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने खेलाडीहरू विदेशमा कुनै न कुनै प्रतियोगितामा व्यस्त हुन्थे। 

तर, लगातार कोरोनाका कारण प्रायः खेलकुद गतिविधि ठप्प हुँदा यस पटक भने खेलाडीहरूले घर परिवारलाई समय दिन भ्याएका छन्। पुरुष फुटबल टोलीलाई छाड्ने हो भने नेपालका चलायमान खेलका खेलाडी स्वदेशमै छन्। घरेलु प्रतियोगिताहरू समेत सकिएका छन्। 

यति बेला पुरुष फुटबल टोली १३औँ संस्करणको साफ च्याम्पियनसिप फाइनल नजिक रहेको छ। नेपाली टोलीले मालेमै दसैं मनाउने छ। यसअघि समेत टोलीले दसैँ अष्टेलियामा मनाएको थियो। 

पुरुष फुटबलबाहेकका खेलाडीले स्वदेशमै दसैं मनाउँदा नेपाल राष्ट्रिय महिला खेलाडी सावित्रा भण्डारी (साम्बा)को दसैं भने विदेशमै हुने भएको छ। चोटका कारण कतारमा रहेकी सावित्राको विश्व चर्चित अस्पेटार अस्पतालमा घुँडाको एसियल शल्यक्रिया भएको छ। शल्यक्रियापछि सावित्रा यतिबेला रिह्याबमा रहेकी छिन्। यद्यपि उनले अझै बल छुन पाउने छैनन्। 

सामान्य अवस्थामा एसिएल शल्यक्रिया भएको तीन महिनापछि मात्रै खुट्टाले ‘बल टच’ गर्न पाइनेछ। त्यो पनि अवस्था हेरेर।  घुँडाको शल्यक्रियापछि रिह्याबमा रहेकी सावित्राको दसैं कतारमै हुने पक्का छ। उनले यस पटक मैदान बाहिर रहे पनि अघिल्ला वर्षहरूका झैँ विदेशमा रहँदा घरपरिवारसँग रमाइलो गरि दसंै मनाउन पाउने छैनन्। 

‘हाम्रो महान चाडनै दसैँ हो। घर परिवारबाट टाढा छु। सबैलाई मिस गरिरहेको छु। दसैँ विदेशमै हुने भयो’, राष्ट्रिय महिला फुटबल टोलीका सर्वाधिक गोलकर्ता समेत रहेकी सावित्राले भनिन्। 

गत फागुनमा भएको राष्ट्रिय महिला लिगमा सावित्राले घुँडाको चोट बोकेकी थिइन्। विभागीय नेपाल पुलिस क्लबविरुद्धको खेलमा ‘ल्याण्ड’ गर्ने क्रममा सावित्राले चोट बोक्न पुगिन्। दोस्रो हाफमै मैदान छाडिन्। 

लगत्तै अस्पताल पुर्‍याएर सावित्राको एमआरआई गर्दा घुँडाको एसिएल गएको पत्ता लाग्यो। योसँगै सावित्राले करिब एक वर्ष मैदान छाड्ने भइन्। सावित्राले आफ्नो खेल जीवनीमा भोगेको यो नै सबैभन्दा ठुलो तथा गम्भीर चोट हो। 

एसिएल शल्यक्रिया गर्नुपर्ने भएसँगै नेपाली फुटबलको सर्वाेच्च निकाय अखिल नेपाल फुटबल संघ (एन्फा)ले सावित्राको उपचार अस्पेटारमा गर्न कतार फुटबल संघलाई पत्र काट्यो। जुन पत्र स्वीकृत भयो र सावित्राको विश्व प्रख्यात अस्पेटारमा उपचार भइरहेको छ।

यदि सावित्राको अहिलेको अवस्थामा झैँ सुधार भएमा उनी कम्तिमा ३–४ महिनामा मैदान फर्कन सक्नेछिन्। चोटबाट फर्कन संघर्षरत सावित्रा यतिबेला आफ्ना शुभेच्छुकको प्रार्थना पर्खेर बसेकी छिन्। उनले भन्ने गर्छिन् ‘मेरो लागि कामना गर्नुस्, प्रार्थना गर्नुस् म चाँडै मैदान फर्कन्छु।’ 

हाल कतारमा रहेकी सावित्रालाई दसैँ नजिकिँदै गर्दा घर परिवारसँग लामो सम्पर्क गर्दै आइएकी छिन्। परिवारले सावित्रालाई चाँडैं घर फर्कन भनिरहन्छन्। उनी भने उपचार गरेर चाँडै घर फर्कने आश्वासन दिँदै बसिरहेकी छिन्। 

सावित्राले यसपटक घरबाट टाढै रहे पनि बुबा आमासँग आशिर्वाद लिने र चाड पर्वमा भन्दा पनि आफ्नो ध्यान उपचारमै केन्द्रित हुने बताउँछिन्। ‘घर परिवारससँग सम्पर्क हुँदा कहिले आउने भनेर नै भन्नु हुन्छ। जति टाढा भए पनि आफ्नो बा आमाको आशिर्वाद भइहाल्छ। त्यसले गर्दा नै म खुसी छु’, सावित्रा भन्छिन्। 

यता, सावित्राको अभावमा नेपालले बंगलोदशसँग दुई मैत्रीपूर्ण खेल र उज्वेकिस्तानमा भएको एएफसी महिला एसियन कप छनोट खेल खेल्यो। बंगलोदशसँगको दुई मैत्रिपूर्ण र एएफसी महिला छनोटमा फिलिपिन्स र हङकङसँगको खेलमा नेपाली टिमले अग्रपंक्ति (सेन्टर स्ट्राइकर) मा पूर्ण रुपमा साबित्रालाई गुमायो। 

सावित्राको अभावमा नेपालले चारै खेलमा राम्रो छाप छाडेन। नेपाली टोलीका मुख्य प्रशिक्षक ग्यारी फिलिप्स तथा कप्तान रेणुका नगरकोटेलेनै सावित्राको अभावमा ‘स्कोरिङ’मा समस्या भएको खुलेरै बताए। 

अष्टेलियन नागरिक ग्यारीले त सावित्रा भएको भए हङकङविरुद्ध २०–२५ गोल हुने प्रतिक्रिया दिए। सावित्रा नहुँदा नेपालले हङकङसँग गोलरहित बराबरी खेलेको थियो। सम्पूर्ण हिन्दु धर्मावलम्बीले दसैं मनाइरहँदा सावित्राले भने कतारमै आफूलाई सम्भव हुने गरि पर्व मनाउने छिन्। अव, सावित्रा चाँडोभन्दा चाँडो मैदान फर्कन आतुर छिन्।  

‘म जुन आफ्नो लक्ष्य, उद्देश्य लिएर उपचारको लागि आएको छु। त्यसैमा ध्यान दिएको छु। चाड पर्व ज्यान रहे अर्काे वर्ष पनि मनाइएला भन्ने विश्वास छ’, उनले भनिन्। 

– रमेश सुवेदी

प्रकाशित मिति: : 2021-10-15 07:43:00

प्रतिकृया दिनुहोस्