राप्ती क्षेत्रका आठ स्रष्टालाई दीर्घ साधना सम्मान प्रदान गरिने

राप्ती क्षेत्रका आठ स्रष्टाहरुलाई दीर्घ साधना सम्मान प्रदान गरिने भएको छ। 

नेपाली गीतसंगीतको उन्नयन तथा राप्ती क्षेत्रका स्रष्टाहरुको सम्मान गर्ने उद्देश्यले  ‘उत्सर्ग संगीत अवार्ड’मा स्रष्टाहरुलाई सम्मान प्रदान गरिने भएको हो।

आउँदो मंसिर ११ गते पहल नेपाल र उत्सर्ग फिल्मस् नेपालले आयोजना गरेको उत्सर्ग संगीत अवार्ड–२०७८ मा नेपाली गीतसंगीतको प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्‍याएको भन्दै स्रष्टाहरु दामोदर बटुवा आचार्य, चन्द्रकला शाह, कोमल वली, कुलानन्द गिरी, चन्द्र शर्मा, सीता आचार्य, चुल्ह्या चौधरी र मोहलाल चन्द आधारलाई दीर्घ साधना सम्मान प्रदान गरिने कार्यक्रम निर्देशक केएल पीडितले जानकारी दिए।

उनका अनुसार अवार्ड कार्यक्रममा स्व. प्रेमप्रकाश मल्ल, स्व. जंगबहादुर गन्धर्व, स्व.मधुबाबु थापा, स्व. नारायण पाण्डे र स्व.मथुरा प्रसाद श्रेष्ठलाई मरणोप्रान्त सम्मान गरिने भएको छ। 

त्यसका साथै, त्यस अवसरमा राप्ती क्षेत्रका विभिन्न जाति तथा समुदायका साँस्कृतिक झाँकीहरु प्रस्तुत गरिने कार्यक्रम आयोजक संस्थाले जनाएको छ। 

अवार्ड वितरण समारोहमा लुम्बिनी प्रदेशका सभामुख एवं जनवादी कवि, गीतकार एवं संगीतकार पूणर्बहादुर घर्ती मगरलाई २५ हजार राशीको उत्सर्ग जनसंगीत राष्ट्रिय पुरस्कार प्रदानसमेत प्रदान गरिने छ। 

राप्ती क्षेत्रका स्रष्टाहरु सहभागी हुने गरी आयोजना गरिएको उत्सर्ग संगीत अवार्ड २०७८ मा राप्ती क्षेत्रमा गाइने लोकभाका, रुपान्तरण एवं राष्ट्रिय भावधाराका गीतहरु, मातृभाषाका गीतहरु, आधुनिक, पप, गजल तथा म्युजिक भिडियो विधामा अवार्ड प्रदान गरिनेछ। 

अवार्डमा सहभागी हुन चाहने स्रष्टाहरुले आगामी कार्तिक १६ गतेसम्म सिर्जना पठाइसक्नु पर्ने कार्यक्रम उप–निर्देशक पाण्डप शर्माले जानकारी दिए।
 

प्रकाशित मिति: : 2021-10-22 15:42:00

प्रतिकृया दिनुहोस्