अदालतको विवादमा एमालेको विषयान्तर : मुद्दा एकातिर, आक्रोश अर्कैतिर

रातोपाटी

काठमाडौँ

पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संवैधानिक इजलासबाट संसद् पुनर्स्थापनाको पक्षमा फैसला गर्ने पाँचैजना न्यायाधीशको राजीनामा माग गरे। नेकपा एमालेको नगर अधिवेशनलाई सम्बोधन गर्दै मंगलबार उनले पाँचैजना न्यायाधीशले राजीनामा गर्नुपर्ने बताएका थिए।

सर्वोच्च अदालतमा गतिरोध जारी रहँदा सबैभन्दा पहिले बोल्ने राजनीतिक पार्टी एमाले बनेको छ। अदालतमा विगत तीन दिनदेखि जारी गतिरोध र प्रधानन्यायाधीशको राजीनामा मागका सम्बन्धमा एमालेले आफ्नो मुख त खोलेको छ, तर विषयान्तर गरेर।

यतिबेला सर्वोच्च अदालतका अधिकांश न्यायाधीशहरूले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गरिरहेका छन्। प्रधानन्यायाधीश जबराले शक्ति पृथकीकरणको सिद्धान्त विपरीत राजनीतिक दल तथा सरकारसँग सौदाबाजी गरेको र त्यसको न्यायापालिकाको गरिमामा आँच आएको उनीहरूको निष्कर्ष छ ।

प्रधानन्यायाधीशकै कारण न्यायपालिकाको गरिमामा आँच आउनुका साथै जनविश्वास गुम्न थालेको भन्दै वर्तमान नेतृत्वबाट न्यायपालिकाले स्वतन्त्र ढङ्गबाट काम गर्न नसक्ने उनीहरूको निष्कर्ष छ। र उनीहरूले मंगलबार औपचारिकरुपमै प्रधानन्यायाधीशको राजीनामा माग गरेका छन्।

मंगलबार काठमाडौंमा उपलब्ध रहेका १५ जना न्यायाधीशको बैठकले प्रधानन्यायाधीशलाई भेटेर राजीनामा माग गरेका थिए। राजीनामा माग गर्ने न्यायाधीशहरूमा केही न्यायाधीश त प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको निकट मानिने न्यायाधीशहरू पनि थिए।

यद्यपि प्रधानन्यायाधीश जबराले आफू संवैधानिक प्रक्रिया पूरा गरेर नै आएका कारण हट्नु परे पनि संवैधानिक प्रक्रिया (महाभियोगबाट) हट्ने भन्दै राजीनामा नदिने जवाफ दिएका छन्।

 

प्रकाशित मिति: : 2021-10-27 11:42:00

प्रतिकृया दिनुहोस्