इजिप्टकाे इस्मालिया महोत्सवमा घन्कियाे नेपालकाे लाेक धुन

बिएल संवाददाता

एल कान्त्र घरब (इजिप्ट)
ALL Photo: Naresh Prajapati
ALL Photo: Naresh Prajapati

इजिप्ट सरकारले आयोजना गरेको २१औँ ‘इस्मालिया इन्टरनेसनल फोकलोर फेस्टिवल’मा पहिलाे पटक नेपाल सहभागी भएकाे छ। यहाँका विभिन्न शहरमा जारी महाेत्सवमा नेपालको प्रतिनिधित्व गर्दै सांस्कृतिक संस्थानका चार जनाका कलाकार सहभागी भएका हुन्।

अक्टोबर २४ देखि ३० तारीखसम्म चल्ने यस महोत्सवमा संस्थानका महाप्रबन्धक अशोकप्यासी राईको नेतृत्वमा सारंगी वादक नरसिंहलाल श्रेष्ठ, बाँसुरी वादक दुर्गाप्रसाद खतिवडा र मादल वादक नरेश प्रजापति सहभागी छन्।

इजिप्ट सरकारकाे निमन्त्रणमा यहाँ आएकाे नेपाली वाद्यवादक टाेलीले अक्टोबर २५ तारीखदेखि दैनिक नेपाली लाेक धुन प्रस्तुत गरिरहेकाे मादल वादक नरेश प्रजापतिले बिएल नेपाली सेवालाई बताए। 

‘हामीले गत २४ तारीखदेखि यस महाेत्सवमा नेपालका विभिन्न लाेक धुन प्रस्तुत गर्दै आएका छाैँ’, प्रजापतिले भने, ‘अरबीयन भाषा, संस्कृति भएकाे याे देशका मानिसले नेपाली लाेक धुनलाई पनि मन पराए।’

३० तारीखसम्म यहाँ रहने नेपाली टाेलीले इजिप्टका विभिन्न शहरमा पुगेर नेपाली धुन प्रस्तुत गर्ने कार्यसूची रहेकाे प्रजापतिले बताएका छन्।

महोत्सवमा नेपालसहित मेक्सिको, जोर्डन, अजबैजान, प्यालेस्टाइन, इन्डोनेसिया र इजिप्टका सात समूह सहभागी छन्। ‘गार्डेन अफ इजिप्ट’भनेर चिनिने सांस्कृतिक शहर इस्मालियाको कल्चरल प्यालेसमा इजिप्टका संस्कृति मन्त्री र इस्मालियाका गभर्नरले भव्य समारोहका बीच महोत्सव उद्घाटन गरेका थिए।

उद्घाटन समारोहमा सहभागी सबै मुलुकको झन्डा फहराइएको थियो भने स्टेजमा आ–आफ्नो देशको ब्यानरसहित कलाकारले मार्चपास पनि गरेका थिए।

उद्घाटन समारोहमा नेपाली कलाकारले सारंगी, बाँसुरी र मादलको संयोजनमा विभिन्न लोक धुन प्रस्तुत गरेका थिए। विश्वप्रसिद्ध यस महोत्सवमा नेपालकाे लाेक धुन प्रस्तुत गर्न पाउँदा आफूहरू अत्यन्त उत्साहित भएकाे कलाकारहरूले बताएका छन्।

‘यहाँ आएर यसरी नेपालका संस्कृत प्रस्तुत गर्न पाउँदा हामी उत्साहित छाैँ, ’ मादल वादक प्रजापतिले भने,‘यहाँका कलाकार पनि नेपाल आउन र नेपाली कला बुझ्ने चाहेका रहिछन् भन्ने थाहा पाउँदा झन खुशी लाग्याे।’

एकै पटक ४५ बाजा बजाउने नरेश (भिडियो अन्तर्वार्ता)

प्रकाशित मिति: : 2021-10-28 13:25:00

प्रतिकृया दिनुहोस्