टी-२० विश्वकप: इंग्ल्यान्डलाई श्रीलंकाको चुनौती 

Photo: Getty Images
Photo: Getty Images

आईसिसी टी-ट्वान्टी क्रिकेट विश्वकप प्रतियोगितामा सोमबार एक मात्रै खेल आयोजना हुँदैछ।

शारजाहमा हुने खेलमा अपराजित इंग्ल्यान्डलाई श्रीलंकाले चुनौती पेस गर्दैछ। खेल नेपाल समयअनुसार राति पौने ८ बजे सुरु हुनेछ।

जारी विश्वकपको सुपर-१२ को समूह-१ को खेलमा इंग्ल्यान्ड लगातार चौथो जितको खोजीमा हुनेछ। अपराजित रहेको इंग्ल्यान्ड ६ अंकका साथ शीर्षस्थानमा छ। इंग्ल्यान्ड पछिल्ला पाँच खेलमा अपराजित छ।

यता, श्रीलंका भने इंग्ल्यान्डलाई पराजित गर्दै दोस्रो जित निकाल्ने दाउमा हुनेछ। जारी सुपर-१२ को खेलमा श्रीलंकाले तीन खेलमा एक जित पाउँदा दुई खेलमा हार ब्यहोरेको छ। चौथो स्थानमा रहेको श्रीलंकासँग दुई अंक छ।

जारी विश्वकपमा श्रीलंकालाई सेमिफाइनल यात्रा सहज बनाउन जित्नैपर्ने दबाब छ। यता, इंग्ल्यान्ड भने कमजोर देखिएको श्रीलंकालाई पराजित गर्दै सेमिफाइनल यात्रा झनै सहज बनाउने योजनामा छ।

श्रीलंकाविरुद्ध इंग्ल्यान्डका जासन रोय, जस बट्लर, मोइन अलि, क्रिस जोर्डन, आदिल रशिद जस्ता खेलाडीले आफ्नो प्रभाव जमाउन सक्छन्। यता, इंग्ल्यान्डविरुद्ध श्रीलंकाका पाथुम निशांका, कुशल परेरा, दासुन शनका जस्ता खेलाडीले आफूलाई सिद्ध गर्न सक्छन्।

जारी सुपर-१२ मा इंग्ल्यान्ड पहिलो स्थानमा रहँदा दक्षिण अफ्रिका दोस्रो स्थानमा छ। तेस्रो स्थानमा अष्टेलिया रहँदा चौथो स्थानमा श्रीलंका छ। यस्तै पाचौं स्थानमा वेस्ट इन्डिज रहँदा अन्तिम तथा छैटौं स्थानमा बंगलादेश छ।

यता, समूह-२ मा तीन खेलमा शतप्रतिशत जितसहित ६ अंक बनाएका पाकिस्तान शीर्षस्थानमा छ।

प्रकाशित मिति: : 2021-11-01 15:18:00

प्रतिकृया दिनुहोस्