तराईमा वा हिन्दुस्तानमा ‘त्योहार’ वा ‘दिवाली’ भन्ने गरिए पनि नेपालमा तिहारलाई ‘दीपावली’ भन्ने गरिन्छ । यो चाड शरद् ऋतुमा आउँछ र पाँचदिनसम्म क्रमिक रूपमा निरन्तर मनाउँछौँ।
तिहार आउने समयमा प्रकृति पनि सफासुग्घर भइसकेको हुन्छ। हाम्रोजस्तो कृषिप्रधान देशमा यहीबेला कृषकले फुर्सद पाउँछन्। कृषकलाई खेतीपातीको मारले छोप्दैन। धान काट्ने र बाली भित्र्याउने काम पनि भइसकेको हुन्छ। यसैले तिहारमा मानिस फुर्सदिलो मन लिएर रस-समाइलोमा भुल्न पुग्छन्।
दसैँ मूलतः पारिवारिक सम्बन्ध र संस्कारको चाड हो। दसैँमा नयाँनयाँ लुगा लगाउने, तयारी बढी हुने र वर्षभरि नभेटिएका मानिस भेट्ने काम हुन्छ।तर,तिहारमा रमाइलोले बढी प्राथमिकता पाउँछ। सबैजना रमाइलो गर्न तत्पर भेटिन्छन्। यसै समयमा प्रकृति पनि नुवाईधुवाई गरेर स्निग्ध बनेकी हुन्छन्।
तिहारमा मासुका परिकारभन्दा फलफूल साथै विविध प्रकारका रोटी, मिठाई खाने गरिन्छ। यस्तै, दसैँमा घरआँगन लिपपोत मात्र गरिन्छ भने तिहारमा घरभित्र र मनभित्र पनि लिपपोत गरिन्छ। यही बेला मान्छेको मनको आकाशमा पनि शरद् ऋतु लाग्छ।