ट्याटु आर्टिस्टको निशानामा ४६ युवती : थप दुईले दिए ब्युरोमा जाहेरी

रातोपाटी

काठमाडाैँ

सामाजिक सञ्जालमार्फत् किशोरी तथा युवतीसँग सम्पर्क गरी उनीहरूको नग्न फोटो तथा भिडियो लिई ब्ल्याकमेल गर्ने युवकविरुद्ध थप दुई किशोरीले जाहेरी दिएका छन् । नेपाल प्रहरीको साइबर ब्युरोका अनुसार सोमबार थप दुई किशोरीले आरोपी लव खड्गीविरुद्ध ब्युरोमा जाहेरी दिएका हुन् । 

साइबर ब्युरोका अनुसार किशोरी तथा युवतीसँग कुराकानी गरी उनीहरूबारे जानकारी लिने र त्यसैलाई आधार बनाएर ब्ल्याकमेल गरी उनीहरूको नग्न फोटो तथा भिडियो लिई ब्ल्याकमेल गर्ने खड्गीविरुद्ध सोमबार थप दुई जनाले ब्युरोमा उजुरी गरेका हुन् । एक १५ वर्षीय किशोरीको जाहेरीको आधारमा साइबर ब्युरोको टोलीले मङ्सिर २ गते खड्गीलाई बसन्तपुरबाट पक्राउ गरेको थियो । किशोरीलाई ब्ल्याकमेल गरी उनको नग्न तस्वीर र भिडियो बनाएको तथा भेट्नका लागि दबाब दिएपछि खड्गी पक्राउ परेका थिए । 

ब्युरोको टोलीले खड्गीलाई पक्राउ गरेपछि उनले प्रयोग गरेका डिजिटल साधनहरूको प्राविधिक परीक्षण गर्दा उनको मोबाइलमा ४६ जना किशोरी तथा युवतीको नग्न फोटो र भिडियो पाइएको थियो । आफू थाइल्याण्डको बैंककमा बस्ने व्यक्ति भएको भन्दै उनले नक्कली इन्स्टाग्राम र फेसबुक बनाएर सोही आधारमा कुराकानी गर्ने गरेका थिए ।

सोही आधारमा किशोरी तथा युवतीसँग कुराकानी गर्ने र उनीहरूको सबै जानकारी लिएपछि त्यही जानकारीलाई आधार बनाएर ब्ल्याकमेल गरी नग्न फोटो र भिडियो पठाउन लगाउने गरेका थिए । अनि जब किशोरी तथा युवतीहरूले नग्न फोटो र भिडियो पठाउँछन्, त्यसपछि त्यसलाई नै आधार बनाएर झनै अश्लील फोटो तथा भिडियो मगाउने र अश्लील गतिविधि समेत गर्न लगाउने गर्थे । अश्लील गतिविधि गर्न नमाने पहिलेको फोटो र भिडियो पोर्न साइटमा राखिदिने धम्कीसमेत दिने गरेका थिए ।

प्रकाशित मिति: : 2021-11-29 18:59:00

प्रतिकृया दिनुहोस्