प्रभावकारी देखिएन महिला हिंसाविरूद्धकाे १६ दिने अभियान, वार्षिक २० हजार बढी महिला हिंसाको शिकार

Breaknlinks
Breaknlinks

हरेक वर्ष २५ नाेभेम्बरदेखि ८ डिसेम्बरसम्म विभिन्न् कार्यक्रम गरी ‘महिला हिंसाविरूद्धको १६ दिने अभियान’ संसारभर मनाउने गरिन्छ।

नेपालले लैङ्गिक हिंसाविरूद्धको १६ दिने अभियान २०५४ सालदेखि मनाउँदै आइरहेको छ। लैङ्गिक हिंसा अन्त्य तथा सन् २०३० सम्म विकासोन्मुख राष्ट्रतर्फ उन्मुख हुने उद्देश्यले हरेक वर्ष संसारभर महिला हिंसाविरूद्ध १६ दिने अभियान सञ्चालन हुने गरेको छ।

यस वर्षको अभियानको नारा 'घरैबाट सुरू गरौं, महिला हिंसा अन्त्य गरौ' भन्ने रहेको छ। गत मंसिर ९ गतेबाट सुरु भएको महिला हिंसाविरूद्ध १६ दिने अभियान आज (बुधबार) विभिन्न कार्यक्रम गरी अन्त्य गरिँदै छ। 

लैङ्गिक हिंसाविरूद्ध सचेतना अभिवृद्धि गर्दै परिवार र समुदायलाई जिम्मेवार बनाउनु र हिंसा न्यूनीकरणमा स्थानीय तहमा हुने न्यायिक समितिलाई जिम्मेवार बनाउनु कार्यक्रमको मुख्य उद्देश्य रहेको छ।

अभियानमा राष्ट्रिय महिला आयोगले देशभरका स्थानीय तहमार्फत् गाउँ–गाउँसम्म विभिन्न कार्यक्रम गर्दै आएको छ। 

आयोगमा दैनिक २० भन्दा बढी उजुरी

महिला आयोगमा दैनिक महिला हिंसाका २० वटासम्म उजुरी दर्ता हुने गरेको छ। देशभरबाट हिंसामा परेका महिलाले आयोगको हेल्पलाइन ११४५ मा सम्पर्क गरी उजुरी टिपाउने गरेका छन्।

आयोगले ०७४ मंसिरबाट हेल्पलाइन सेवा सुरू गरेको थियो। विशेषगरी हेल्पलाइनमार्फत् परामर्शको काम प्रभावकारी बन्दै आएको आयोगले जनाएको छ।

आयोगको  हेल्पलाइनमा सम्पर्क गरी  'चार वर्षमा झन्डै ५ हजार ५ सय १५ वटा हिंसाका उजुरी  आएका थिए' जसमध्ये ३ हजार ४ सय जनालाई न्याय दिइसकेको आयोगले जनाएको छ।

आयोगमा आउने उजुरीमध्ये ८० प्रतिशत उजुरी घरेलु हिंसाको छ। जसलाई आयोगले पीडित र पीडकलाई राखेर आपसी समझदारीमा मिलाउने र मनोपरामर्श गर्ने गरेको छ।

चालु आर्थिक वर्षको चार महिना (साउन–कात्तिक)सम्म आयोगमा ७ सय १६ जनाले हिंसामा परेको उजुरी गरेका छन्। जसमध्ये सबैभन्दा धेरै बागमती प्रदेशबाट छ। बागमती प्रदेशमा २ सय ८५ वटा घरेलु हिंसाका घटना भएका छन्।

वार्षिक १८ देखि २० हजार महिला हिंसाका घटना

सरकारले महिला हिंसाका घटना कम गर्न हरेक वर्ष महिला हिंसाविरूद्धको १६ दिने अभियान सञ्चालन गरे पनि हिंसाका घटना बर्सेनी बढ्दै गइरहेको छ।

महिला हिंसाका घटनामा  जबरजस्ती करणी, बलात्कारपछि हत्या, दाइजोप्रथा, बालविवाह, बहुविवाह, जातीय छुवाछुत, बोक्सी आरोप लगायतका विभिन्न घटना रहेका छन्। 

नेपालमा वार्षिक १८ देखि २० हजार महिला हिंसाका घटना भएको नेपाल प्रहरी तथ्यांकले देखाएको छ।

आर्थिक वर्ष ०७५र०७६ मा देशभर १९ हजार ३ सय ४ वटा घटना भएका थिए। त्यस्तै आर्थिक वर्ष ०७६र०७७ मा १५ हजार ७ सय ५६ वटा घटना भएको छ।

त्यस्तै, आर्थिक वर्ष ०७७र०७८ मा १८ हजार ९ सय ६१ घटना भएका छन्।

चालु आर्थिक वर्षको चार महिनामा ४ हजार ७ सय ८ वटा घटना भएका छन्। तथ्यांकअनुसार प्रदेश नम्बर १ मा ४ सय ७०, प्रदेश नम्बर २ मा १ हजार १ सय ४७, प्रदेश नम्बर ३ मा ४ सय ४९ वटा घटना भएका छन्।

त्यसैगरी प्रदेश नम्बर ४ मा ३ सय ५३, प्रदेश नम्बर ५ मा ७ सय ७६, प्रदेश नम्बर ६ मा २ सय ५५, प्रदेश नम्बर ७ मा ४ सय ४६ वटा महिला हिंसका घटना भएका छन्। त्यसमध्ये काठमाडौं उपत्यकामा मात्र ४ महिनामा ८ सय १२  घटना भएको तथ्यांकले देखाउँछ।

प्रकाशित मिति: : 2021-12-09 17:20:00

प्रतिकृया दिनुहोस्