मनाङसँग पुलिस, च्यासल र ब्रिगेडले पोखरामा खेल्ने

File Photo
File Photo

कीर्तिमानी आठौँ पटकको सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन मनाङ मर्स्याङ्दी क्लबले तीन क्लबलाई ‘घरेलु मैदान’  पोखरामा आतिथ्यता प्रदान गर्ने भएको छ। 

अखिल नेपाल फुटलब संघ (एन्फा) का केन्द्रीय सदस्य तथा मनाङ मर्स्याङ्दी क्लबका उपाध्यक्ष विजय घलेले लिगका तीन खेल पोखरामा खेलाउने निर्णय भएको जानकारी गराए। उनले भने, ‘लिगका तीन खेल पोखरामा खेलाउने निर्णय भएको छ। हामीसँग पोखरा जान तीन क्लब तयार छन्।’  

घलेका अनुसार नेपाल पुलिस क्लब, च्यासल युथ क्लब र ब्रिगेड व्वाइज क्लब पोखरामा खेल्ने छन्। मनाङले छैटौँ, सातौँ र आठौँ चरणका आफ्ना तीन खेल पोखरामा लैजाने भएको छ। मनाङले पोखरा रंगशालालाई घरेलु मैदान बनाएसँगै ए डिभिजन लिगका आफ्ना पोखरामा खेल्ने तयारी गरेको थियो। 

मनाङले सहभागी १४ क्लबलाई पत्र पठाउँदा तीन क्लब पोखरा जान तयार भएका हुन्। अब, मनाङले एन्फासँगको पूर्व सम्झौताअनुसार तीन क्लबको पोखरा जाने आउने र होटल खर्च व्वयस्था गर्नेछ भने मैदानबाट आएको रनिङ बोर्ड र टिकटसहित पार्किङबाट उठेको पैसा प्राप्त गर्नेछ। 

खेलहरू यसअघि तय भएकै मितिमा हुने छन्। खेलको समय भने तोकिएको छैन। एन्फाले हालसम्म चौथो चरणसम्मको खेल तालिका सार्वजनिक गरेको छ। लिगको तेस्रो चरण खेलहरू बुधबारबाट सकिएको छ। 

मनाङ तीन खेलमा दुई जित र एक बराबरीको नतिजापछि ७ अंकसहित तेस्रो स्थानमा छ। समान खेलमा समान ७ अंक जोडेको सातदोबाटो युथ क्लब र मच्छिन्द्र फुटबल क्लब गोलअन्तरका आधारमा क्रमशः  पहिलो र दोस्रो स्थानमा छ। 

समान पाँच अंक बनाएका संकटा, नेपाल पुलिस र आर्मी क्रमशः चौथो, पाँचौ र छैटौँ स्थानमा छन्। यता, समान ४ अंक रहेका थ्रिस्टार, ब्रिगेड र च्यासल युथ क्रमशः सातौं, आठौं र नवौँ स्थानमा रहँदा समान २ अंकका फ्रेण्ड्स, एनआरटी र हिमालयन शेर्पा क्लब १०औँ, ११औँ र १२औँ स्थानमा छन्।

विना कुनै अंक जावलाखेल युथ र एपीएफ क्लब क्रमशः १३औँ र १४औँ स्थानमा रहँदै रेलिगेसन जोनमा छन्। चौथो चरणका खेल भोलि (शुक्रबार)बाट नै सुरू हुने छन्। 
 
 

प्रकाशित मिति: : 2021-12-09 13:09:00

प्रतिकृया दिनुहोस्