हिमालयन शेर्पालाई हराउँदै मछिन्द्र शीर्ष स्थानमा

साविक विजेता मछिन्द्र क्लब शहीद स्मारक ए डिभिजन लिगको शीर्ष स्थानमा उक्लेको छ। शनिबार भएको दोस्रो खेलमा मछिन्द्रले हिमालयन शेर्पालाई ३-० ले हरायो।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा मछिन्द्रका लागि सुनील बल, नुर्लान नोभ्रुजोभ र विमल घर्ती मगरले गोल गरे।

खेलको सुरुवातदेखि नै आक्रमण बनाएको मछिन्द्र ११ औं मिनेटमा गोलनजिक पुगेको थियो। नुर्लानले पेनाल्टी बक्सभित्रबाट वान भर्सेस वानको स्थितिमा प्रहार गरेको बलमा क्रस बारमा लाग्दा मछिन्द्र अग्रता लिनबाट बञ्चित रह्यो। २२ औं मिनेटमा मछिन्द्रका सुनील बलको फ्रिकिक प्रहार हिमालयन शेर्पाका गोलकिपर दीप कार्कीले बचाए।

तर २९ औं मिनेटमा सुनीलले करिम ओमालाको फ्रिकिकमा गोल गर्दै मछिन्द्रलाई अग्रता दिलाए। हिमालयन शेर्पाका गोलकिपर दीप अघि बढेको मौकामा सुनीलले गोल गरेका थिए। पहिलो खेलमै एनआरटी विरुद्ध दुई गोल गरेका सुनीलले लिगमा गरेको यो तेस्रो गोल हो।

४७ औं मिनेटमा हिमालयन शेर्पाका सुरेश कुमालको प्रहार मछिन्द्रका गोलकिपर विशाल श्रेष्ठले पन्च गर्दै बचाएका थिए।

दोस्रो हाफमा मछिन्द्रले दुई गोल थप्यो। ६७ औं मिनेटमा नुर्लानले गोल गर्दै मछिन्द्रको अग्रता दोब्बर पारे। विशाल राईको कर्नरमा पेनाल्टी बक्समा रहेका नुर्लानले गोल गरे। पहिलो पटक ए डिभिजन लिग खेलिरहेका अजरवैजानी खेलाडी नुर्लानको यो पहिलो गोल हो।

वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका विमल घर्ती मगरले इन्जुरी टाइममा आन्द्रेस नियाको पासमा गोल गरे। जारी लिगमा विमलको यो पहिलो गोल हो।

चार खेलमा तीन खेल जितेको मछिन्द्र १० अंक जोड्दै शीर्ष स्थानमा उक्लेको छ । मनाङ मर्स्याङ्दी समान अंक भएपनि मछिन्द्र गोलअन्तरमा अघि रहेको हो।

दोस्रो हारपछि ४ खेलबाट २ अंक मात्र रहेको हिमालयन शेर्पा १२औं स्थानमा झरेको छ र रेलिगेसन जोनबाट अलिकति माथि छ।

प्रकाशित मिति: : 2021-12-12 06:06:00

प्रतिकृया दिनुहोस्