सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका-८ ईर्खुमा चौथो नगर स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ।
नगर खेलकुद विकास समितिको आयोजनामा शुक्रबारबाट सुरु भएको प्रतियोगिता पुस ४ गते आइतबार समापन हुनेछ। उक्त प्रतियोगितामा नगर भरिका २३ वटा विद्यालयको सहभागिता रहेको छ।
भलिबलमा (महिला र पुरुष छुट्टाछुट्टै), कबड्डी, एथलेटिक्स, मार्सल आर्टलगायतका विधाका खेल हुनेछन्। हरेक विधामा प्रथम हुनेलाई १५ हजार द्वितीय हुनेलाई १२ हजार र तृतीय हुनेलाई ९ हजार पुरस्कार राशि रहेको आयोजकले जनाएको छ। यो वर्ष हरेक विद्यालयलाई प्रोत्साहन स्वरूप दश हजार नगदसमेत प्रदान गरिने नगर खेलकुद विकास समितिका सहसंयोजक अमृतमान श्रेष्ठले बताए।
यस प्रतियोगितामा छनोट भएका खेलाडीलाई जिल्लास्तरिय राष्ट्रपति रनिङशील्ड प्रतियोगितामा सहभागी गराइने छ। प्रतियोगिताको नगर प्रमुख अमानसिङ तामाङले उद्घाटन गरेका छन्।
गत वर्ष जिल्ला स्तरको राष्ट्रपति रनिङशील्ड प्रतियोगितामा चौतारा सांगाचोकगढी नगरपालिका प्रथम भएको थियो।