लुम्बिनी प्रदेशकी कानुन, महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री रमा घर्तीले खेल क्षेत्रको विकासका लागि पूर्वाधारको विकास हुन आवश्यक रहेको बताएकी छन्।
दाङ जिल्ला आइटिएफ तेक्वान्दो संघको आयोजना तथा चौघेरा तेक्वान्दो डोजाङको सहकार्यमा घोराहीमा शुक्रबारदेखि सुरु भएको लुम्बिनी प्रदेशस्तरीय आइटिएफ तेक्वान्दो प्रतियोगिताको उद्घाटन गर्दै मन्त्री घर्तीले स्वास्थ्यसँगै देशको पहिचानसँग जोडिएको खेल क्षेत्रको विकासका लागि प्रयाप्त पूर्वाधार नुहँदा क्षमतावान तथा प्रतिभाशाली खेलाडी पहिचान गर्न समस्या भएको बताइन्।
खेलकुल क्षेत्रको विकासका लागि पूर्वाधार विकास गर्न आवश्यक रहेको उनकाे भनाइ छ।
मन्त्री घर्तीले पछिल्ला समयमा संघीय, प्रदेश तथा स्थानीय सरकारले हरेक खेलका लागि पूर्वाधार विकासमा प्राथमिकता दिएको भन्दै आफूले प्रदेशका तर्फबाट सहयोग गर्ने प्रतिबद्धता जनाइन्।
साथै नागरिकको स्वास्थ्यसँगै देशलाई चिनाउने खेलकुद क्षेत्रको विकास हुन आवश्यक रहेको बताउँदै आउने वर्षमा बजेटको व्यवस्था गर्न सहयोग गर्ने प्रतिबद्धता जनाइन्।
दाङ जिल्ला खेलकुद विकास समितिका अध्यक्ष विवेक श्रेष्ठले अनुसाशित र लगनशीलताले गर्दा नै सफलता प्राप्त हुने र त्यही अनुसार खेलाडीलाई लाग्न आग्रह गरे।
कार्यक्रममा बोल्ने अन्य वक्ताहरुले हरेक व्यक्तिका लागि आइटिएफ तेक्वान्दो खेल स्वास्थ्यसँगै आत्म सुरक्षाका लागि समेत आवश्यक रहेकाले खेल्न आवश्यक भएको बताएका थिए।
युवाहरुलाई अनुसाशनका माध्यमबाट देशको गरिमा बढाउन खेल क्षेत्रले योगदान दिएपनि राज्यले खेलाडीहरुलई हेर्न नसकेको बक्ताहरुको भनाई थियो।
प्रतियोगितामा दाङ, प्युठान, बाँके, बर्दिया, अर्घाखाँची, गुल्मी, कपिलवस्तु, पाल्पा र रुपन्देशी जिल्लाका करिव २ सय ५० खेलाडी सहभागी छन्।
प्रतियोगितामा २० केजीदेखि ६० केजी तौल समूहमा महिला र २० देखि ७० केजी तौल समुहमा पुरुष खेलाडीहरुले प्रतिष्प्रर्धा गर्ने आयोजक दाङ जिल्ला आईटिएफ तेक्वान्दो संघका अध्यक्ष भीमबहादुर थापाले जानकारी दिए।
११ गतेसम्म सञ्चालन हुने प्रतियोगिताका खेलहरु घोराही उपमहानगरपालिका–१४ कवर्ड हलमा भइरहेका छन्।