‘रजतपट’ बन्द गर्ने प्रकाश सुबेदीको घोषणा

File Photo
File Photo

एपीवान टेलिभिजनबाट प्रशारण हुने कार्यक्रम ‘रजतपट’ बन्द हुने भएको छ। प्रस्तोता प्रकाश सुबेदीले रजतपटको ७२ औं अंकमा आफ्नो कार्यक्रम बन्द हुने घोषणा गरेका हुन्। यद्यपी यो कार्यक्रम तत्काल बन्द हुन लागेको भने होइन। सुबेदीका अनुसार कार्यक्रम १०० भाग पुगेपछि उनी आफैँले बन्द गर्नेछन्।

चलचित्रका गतिबिधीहरु समावेश हुने यो कार्यक्रम जति चर्चित छ त्यत्ति नै बिबादित पनि छ। चलचित्रकर्मीहरुले रजतपटका केही सामग्रीहरुमा असन्तुष्टि जनाउँदै पटक पटक बिभिन्न निकायमा उजुरी दिने गरेका छन्। यद्यपी दर्शकहरुले भने कार्यक्रमलाई मन पराईरहेका छन्।

प्रेस काउन्सिल, एपीवान टेलिभिजन लगायत चलचित्र क्षेत्रका बिभिन्न संघ सस्थामा यो कार्यक्रम विरुद्ध उजुरी पर्ने गरेका छन्। एकाध घट्नामा त सुबेदीले सार्वजनिक रुपमा माफी समेत मागेका छन् भने चलचित्र क्षेत्रका संघ संस्थाको बहिस्कारको निर्णय पनि गरेका थिए। एक पटक भने टेलिभिजनले प्रकाश कार्यक्रमलाई केही हप्ता निलम्बन समेत गरेको थियो।

सामाजिक सञ्जालमा असन्तुष्टि व्यक्त गर्नेको संख्या बाक्लो भएपनि पुजा शर्मा, सिल्पा पोखरेल पछि यतिबेला अर्की अभिनेत्री वर्षा शिवाकोटीले पनि रजतपट बिरुद्ध प्रेस काउन्सिलमा उजुरी दर्ता गरेकी छिन। उजुरी परे लगत्तै सुबेदीले लामो भुमिका बाध्दै कार्यक्रम नै बन्द गर्ने घोषणा गरेका हुन्। उनले आफु गलत भएर आफुलाई सही प्रमाणित गराउन त्यत्ति गाह्रो हुन्न होला तर, आफु सही भएर सही प्रमाणित गराउन भने निकै गाह्रो हुने बताएका छन्। उनले आफुले रजतपटमा नयाँ केही नगरेको भन्दै सामाजिक सञ्जालमा छताछुल्ल विषयमाथी आफ्नो टिप्पणी मात्र हुने गरेको जनाएका छन्।

प्रकाशित मिति: : 2021-12-26 11:37:00

प्रतिकृया दिनुहोस्