ऊ अमेरिकाको विमानस्थलमा थुनिएको छ ।
विमानस्थल खासमा कोही थुनिनुपर्ने ठाउँ हैन । कतै जाने ठाउँ हो । या कतैबाट आइपुग्ने ठाउँ हो । तर ऊ चढेको जहाज हावामै हुँदै गर्दा उसको देशमा सैनिक 'कु' हुन्छ । देश गृहयुद्धमा जान्छ । चढ्नेबेलामा वैधानिक रहेको उसको पासपोर्ट ओर्लिँदासम्म अमेरिकाको लागि अवैधानिक हुन्छ । ऊ विमानस्थल कट्न पाउँदैन ।
निषेध अमेरिकाले उसको देशमाथि लगाएको थियो । निषेध लागेको बखत ऊ हावाको देशमा थियो । त्यसले जहाजलाई अमेरिका ओर्लिनबाट रोकेन । तर, ओर्लेपछि निस्किनबाट रोक्यो ।
कुनै देशले गरेको निर्णय सुनिँदा अर्को देशलाई अस गरेको सुनिएला । तर, त्यसले खासमा त्यो देशमा भएका मान्छेहरूलाई असर गर्छ । त्यो देशमा भएका मान्छेका सपनालाई असर गर्छ ।
त्यसैको असरले ढोकाबाट बाहिर निस्किने बेलामा उसको पासपोर्टमा हरियो स्ट्याम्प लागेन । अङ्ग्रेजी नजान्ने देशबाट आएको सरल र निस्वार्थ मान्छे ऊ अमेरिकाको एयरपोर्टमा थुनियो । कहिले निस्किन पाउँछु भन्ने थाहा नपाउँदै थुनियो ।
थुनिएपछि त्यसैले उसले जिन्दगीभर जानेको एउटै कुरा गर्यो । उसले कहिलेसम्म पर्खिनुपर्छ भन्ने थाहा नपाइकन पर्खियो । केवल पर्खियो ।
साना देशहरूले पर्खिनबाहेक के नै गर्न सक्छन् र ।
स्टिभिन स्टिलवर्गले निर्देशन गरेको 'द टर्मिनल' फिल्मले एयरपोर्टमा रोकिएको भिक्टर चरित्र र उसले भेट्ने मानिसहरूमार्फत साना देशका मानिसले रोकिनुपर्ने कारण र गर्नुपर्ने पर्खाइको कुरा गर्छ ।