कर्णाली सरकारले 'अल्ट्रा धाविका' सुनमायालाई दुईलाख दिएर पुरस्कृत गर्दै

File Photo
File Photo

लेखक तथा विश्लेषक रामसिंह रावलका अनुसार 'सुनमाया कर्णालीकी दुर्लभ हिरा हुन्।' उनले जुम्ला चाैधबीसकी सुनमाया बुढाले हासिल गरेका र भविष्यमा हासिल गर्न सक्ने उपलब्धिलाई हेरेर यस्ताे भनेका हुन्।

उनले शब्द चयन गरेजस्तो छिन्, सुनमाया। जसले भर्खरै थाइल्याडमा सम्पन्न थाइल्यान्ड बाई युटिएमबी अल्ट्रा ट्रेल रनिङ प्रतियोगितामा बुढाले महिलातर्फ प्रथम स्थान हासिल गरेकी थिइन्। 

उनले ११० किलोमिटरको दूरी १४ घन्टा ५४ मिनेट १ सेकेन्डमा पूरा गरेकी थिइन्। दुई हजार प्रतियोगीलाई उनले पछाडि पारेर नेपाल र कर्णालीकाे नाम थप उचाे बनाएकी थिइन्। 

संसारकाे सबैभन्दा अग्लाे स्थानमा धान फल्ने तर विकट चाैधबीस क्षेत्रमा जन्मेकी सुनमायाकाे संसारका धेरै प्रतियाेगितामा सामेल भएर देशकाे नाम उचाे बनाउहरुमा पर्छ। उनै सुनमायालाई कर्णाली प्रदेश सरकारले दुई लाख रुपैयाँ प्रोत्साहनस्वरुप पुरस्कृत गर्ने भएको छ। 

आइतबार बिहान मुख्यमन्त्री एवं कर्णाली प्रदेश खेलकुद विकास परिषद्का संरक्षक जीवनबहादुर शाहीको अध्यक्षतामा बसेको प्रदेश खेलकुद परिषद् बैठकले बुढालाई पुरस्कृत गर्ने निर्णय गरेको कर्णाली प्रदेश खेलकुद विकास परिषद्का सदस्य सराेज शाहीले बताए।

'कर्णाली विश्वका उत्कृष्ट खेलाडी उत्पादन गर्ने थलाे हाे भनेर निर्धक्क भन्न सकिन्छ,' उनले भने, 'खेलाडीलाई उत्प्रेरणा मात्रै दिन सके थप प्रगतिका ढाेका खुल्छन्। कर्णाली सरकारले सुरुवात गरेकाे छ।'

त्यस्तै, हालै बंगलादेशमा सम्पन्न भलिबल प्रतियोगीतामा प्रथम स्थान हासिल गरेको नेपाली महिला भलिबल प्रतियोगिताकी खेलाडी जाजरकोटकी कामना विष्टलाई ५० हजार राशिको पुरस्कार दिने निर्णय भएको कर्णाली प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव विश्वामित्र सञ्यालले जानकारी दिए।

सुर्खेतमा बन्दै गरेको प्रदेश रंगशालामा नेपालकै पहिलो भलिबलको कभर्ड हल निर्माण गर्ने र कालीञ्चोक मैदानलाई प्रदेश रंगशाला निर्माण नहुँदासम्मका लागि वैकल्पिक खेलकुद मैदानको रूपमा प्रयोग गर्ने निर्णय भएको सदस्य सचिव सञ्यालले बताए।

'२० मंसिरमा शिलान्यास गरिएको प्रदेश रंगशाला निर्माणको प्रगतिमा २८ दिनको अवधिमा माटो परीक्षणको काम सम्पन्न भएको, डीप बोरिङको काम भइरहेको, विद्युतको ट्रान्सफर्मर राख्ने काम भइरहेको, साइट घेरबारको काम भइरहेको छ,' उनले भने, 'प्रदेशकै गौरवको आयोजनाको काममा तीव्रता दिइएको छ।'

प्रदेश गौरवको एक मात्रै आयोजना भएकाले समयमै निर्माण कार्य सक्ने गरेर कार्ययोजनासहित काम सम्पन्न गर्न मुख्यमन्त्रीले कर्णाली प्रदेश खेलकुद विकास परिषद्का पदाधिकारी निर्देशन दिएको सदस्य सचिव सञ्यालले जानकारी दिए।

प्रकाशित मिति: : 2022-01-03 07:16:00

प्रतिकृया दिनुहोस्