मन्त्री झाँक्रीकाे प्रष्टिकरणः 'सलामी' मलाई हाेइन, मन्त्री पदलाई दिइएको हो

File Photo
File Photo

शहरी विकास मन्त्री तथा नेकपा (एस)की सचिव रामकुमारी झाँक्री यतिबेला सामाजिक सञ्जालमा ‘ट्रोल’काे शिकार बनेकी छिन्।

गृहजिल्ला गुल्मी पुगेकी मन्त्री झाँक्रीलाई प्रहरीले नियमसम्वत मन्त्रीले पाउने सलामी दिएको एउटा फोटो सामाजिक सञ्जालमा एकाएक भाइरल बनेको हो।

आईतबार इलाका प्रहरी कार्यालय पुर्कोटदहको निरीक्षणका क्रममा मन्त्री झाँक्रीलाई प्रहरी कार्यालयले कार्यविधिअनुसार नै सलामी दिएको थियो। स्थानीय निकायमा सम्पन्न वा भइरहेका विकासे आयोजनाहरूको निरीक्षणका लागि उनी गुल्मी पुगेकी थिइन्।

मन्त्री झाँक्रीकाे 'भाइरल फोटो'लाई सामाजिक सञ्जालभर ‘ट्रोल’ बनाउने कार्य जारी नै छ। तर प्रहरीले उनलाई कार्यविधि अनुसार नै सलामी दिएको हो।

‘राज्यले एउटा मन्त्रीलाई दिने सुविधा मैलै लिएको हो,’ बिएल नेपाली सेवासँग मन्त्री झाँक्रीले भनिन्, ‘राज्यले मन्त्री पदलाई दिने सुविधा अनुसार मैले त्यो सम्मान ग्रह गरेकी हुँ। यसलाई ट्रोल बनाइन्छ भने, मेरो भन्नु केही छैन।’

‘विकासे याेजनाहरूकाे निरीक्षण गर्न गुल्मी पुगेका बेला प्रहरी चौकीको पनि निरीक्षण गर्‍याैं। मेरो रहरले भन्दा पनि  सुरक्षाकर्मीले आफ्नो परम्परा अनुसार एउटा राज्यको हैसियतले पाउने सम्मान दिएका हुन्,’ मन्त्री झाँक्रीले भनिन्।

'समारोह व्यवस्थापन कार्यविधि' अनुसार मन्त्री झाँक्रीलाई सलामी दिएको नेपाल प्रहरीका प्रवक्ता एसएसपी बसन्त कुवँरले बताएका छन्। 

उनले भने, ‘समारोह व्यवस्थापन कार्यविधि अनुसार प्रहरी कर्यालयको निरीक्षणमा रहनुभएका बेला उहाँलाई सलामी दिइएको हो।’ सलामी लिइरहेकाे सामान्य फोटोलाई सामाजिक सञ्जालमा तोडमोडगरी पोष्ट गर्न थालिएपछि मन्त्री झाँक्रीको सचिवालयले थप स्पष्ट पारेकाे छ। 

मन्त्रीको सचिवालयले जारी गरेको विज्ञेप्ति जस्ताको त्यस्तै–

‘हामी पाँच दिनदेखि गृहजिल्ला गुल्मीमा छौं। जिल्लाका विभिन्न पालिका तहमा पार्टीका कार्यक्रम,राजनीति दलका स्थानीय नेतृत्वसगँ अन्तरक्रियाको साथै जिल्लास्थित सरकारी कार्यालयहरुमा निरीक्षण,अनुगमन गर्ने काम भएको छ। यसै सिलसिलामा मदाने गाउँपालिका पुर्कोटदहमा रहेको ईलाका प्रहरी कार्यालय निरीक्षण गर्ने कार्यक्रम थियो। कार्यालय परिसरभित्र संघीय सरकारको मन्त्री हैसियतमा प्रवेश गर्दा संविधान,कानुन अनुसार सम्मान स्वरुप सलामी दिने प्रचलन रहेछ। आफ्नो परिसरभित्र प्रवेश गर्ने विशिष्ट व्यक्तिलाई सम्मान दिनु प्रहरीले आफ्नो कर्तव्य ठान्ने रहेछ। 

हामीसगँ दुईवटा विकल्प थिए। पहिलो विकल्प प्रहरी कार्यालयको निरीक्षण गर्ने कार्यक्रममा सहभागी हुने वा दोस्रो विकल्प कार्यक्रम रद्द गर्ने। हामीले पहिलो विकल्प नै रोज्यौ,आफ्नै गाउँपालिकाभित्र रहेको संघीय सरकारको महत्त्वपूर्ण कार्यालयको निरीक्षण गर्ने। यो प्रहरी कार्यालयसगँ मन्त्री ज्युको भावनात्मक सम्बन्ध पनि रहेको छ। द्वन्द्वको क्रममा खुम्चिएको प्रहरी कार्यालय पुनः स्थापना हुने क्रममा विभिन्न राजनीति कारणले अन्यत्र सारिएको थियो। वर्तमान शहरी विकास मन्त्री ज्युको पहलमा त्यो वेला पुर्कोटदहमै पुनःस्थापना गर्ने काम भएकोले पनि कार्यालय प्रमुख र स्थानीय समाजसेवीहरुले ईलाका प्रहरी कार्यालयको अनुगमन गराउन र सम्मान गर्न चाहानुहुन्थ्यो। त्यसकारण हामीले उहाहरुको आग्रहलाई स्वीकार गरेका हौ। निरीक्षणको कार्यक्रम रद्ध गरेर उहाहरुलाई हामी दुखी वनाउन चाहेनौ। हामीलाई सामाजिक सन्जालमा आलोचना हुन्छ भन्ने पनि थाहा थियोे। तर यो कुनै आलोचना विषय भने हैन। कानुनअनुसार राज्यको एउटा अगंले विशिष्ट व्यक्तिलाई आफ्नो कार्यालय परिसरभित्र दिने सम्मानको सामान्य प्रकृया हो’। 

२०७८ पुस १९ सोमवार
निजी सचिवालय

प्रकाशित मिति: : 2022-01-03 19:24:00

प्रतिकृया दिनुहोस्