फिफा द बेस्ट : कसको भोट कसलाई ?

विश्व फुटबलको सर्वोच्च निकायले फिफाले प्रदान गर्ने ‘फिफा द बेस्ट’ को अवार्ड जर्मन क्लब बायर्न म्युनिखका स्टार रोबर्ट लेवान्डोस्कीले जिते। सन् २०२० मा पनि सो अवार्ड जित्न सफल भएका पोल्यान्डका स्ट्राइकर लेवान्डोस्की दोस्रो पटक उत्कृष्ट ठहरिए। 

सो अवार्ड जित्नेक्रममा लेवान्डोस्कीले पेरिस सेन्ट जर्मेन (पिएसजी)का स्ट्राइकर लियोनल मेस्सी र लिभरपुलका मोहम्मद सालाहलाई उछिने। त्यसअघि अघिल्लो संस्करणमा लेवान्डोस्कीले मेस्सी र क्रिस्टियानो रोनाल्डोलाई उछिन्दै अवार्ड हात पारेका थिए।


अवार्ड समारोहमा इङ्ग्लिस क्लब म्यानचेस्टर युनाइटेडका स्टार रोनाल्डोलाई फिफाले विशेष अवार्ड प्रदान गरेको थियो। सर्वाधिक धेरै अन्तर्राष्ट्रिय गोल गर्दै विश्व कीर्तिमान राखेका कारण फिफाले ३६ वर्षीय रोनाल्डोलाई विशेष अवार्ड प्रदान गरेका हो। 

रोनाल्डोले गत वर्ष इरानी खेलाडी अली दाईको एक सय नौ गोलको कीर्तिमान भङ्ग गरेका थिए। रोनाल्डोले हालसम्म एक सय १५ अन्तर्राष्ट्रिय गोल गरिसकेका छन्।

यस्तै, युरोपियन च्याम्पियन क्लब चेल्सीका प्रशिक्षक थोमस टुचेलले फिफा द बेस्ट कोचको अवार्ड जिते। चेल्सीलाई गत संस्करणको च्याम्पियन्स लिग जिताएका ४८ वर्षीय टुचेलले उक्त अवार्ड जित्ने क्रममा म्यानचेस्टर सिटीका पेप ग्वार्डिओला तथा इटालीका कोच रोबर्ट मन्सिनीलाई उछिने। 

फिफा द बेस्टको अवार्ड समर्थक, खेलाडी, प्रशिक्षक र खेल पत्रकारको भोटका आधारमा दिइन्छ। एक जनाले एउटा विधका तीन जनालाई भोट दिन पाउँछन्। तथापि, अङ्कमा भने घटबढ हुन्छ। पहिलो भोट ठुलो अङ्कको हुनेछ भने त्यसपछिका भोट क्रमशः सानो अङ्कमा हुनेछन्।

विशेष अवार्ड जितेका रोनाल्डोले पहिलो भोट लेवान्डोस्कीलाई नै दिएका थिए। दोस्रो भोट एनगोलो कान्टे र तेस्रो भोठ जोर्गिन्होलाई दिए। यसअघि मेस्सीलाई भोट दिने गरेका रोनाल्डोले यसपटक भने अरूलाई नै दिएका हुन्। 

यस्तै, मेस्सीले आफ्नो पहिलो भोट सहकर्मी नेयमारलाई दिए भने दोस्रो भोट पिएसजीकै किलियन एम्बाप्पेलाई दिए। तेस्रो भोट भने रियल मड्रिडका करिम बेन्जेमालाई दिएका थिए। 

विजेता लेवान्डोस्कीले भने जोर्गिन्हो, मेस्सी र रोनाल्डोलाई क्रमशः पहिलो, दोस्रो र तेस्रो भोट दिएका थिए। द बेस्ट दौडमा तेस्रो बनेका सालाहले जार्गिन्होलाई पहिलो, मेस्सीलाई दोस्रो र लेवान्डोस्कीलाई तेस्रो भोट गरे।
 

प्रकाशित मिति: : 2022-01-18 08:12:00

प्रतिकृया दिनुहोस्