क्यानद्वारा ग्रेडिङको निर्णय फिर्ता तर फर्केन मल्ल र ऐरीको पद

नेपाल क्रिकेट संघ (क्यान) ले ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी र कमलसिंह ऐरीलाई ६ महिना केन्द्रीय सम्झौतामा नराख्ने निर्णय फिर्ता लिएको छ । पछिल्लो समय क्यानले गरेको खेलाडी बर्गीकरणमाथि चित्त नबुझाएका यी चार खेलाडीले क्यानको आलोचना गरेको भन्दै कारबाही स्वरूप उनीहरूविरूद्ध यस्तो कारबाही गरिएको थियो । कारबाहीकै क्रममा कप्तान ज्ञानेन्द्र मल्ल र उपकप्तान दीपेन्द्रसिंह ऐरीलाई बर्खास्त गरिएको थियो ।

क्यानको यो कारबाहीलाई लिएर मुलुकमा ठूलो विरोध भएको थियो । त्यही बिरोधलाई सम्बोधन गर्न क्यान आफ्नो निर्णय फिर्ता लिन बाध्य भएको हो ।

तर, क्यानले मल्ल  र ऐरीलाई कप्तान र उपकप्तानबाट हटाएको निर्णय भने फिर्ता लिएन । क्यानका पदाधिकारीले नयाँ कप्तानका रूपमा सन्दीप लामिछानेको नाम आइसीसीमा पठाइसकिएको र त्यसलाई बिचैमा फिर्ता लिदा पुन: प्रतिबन्धको खतरा बढ्ने भन्दै त्यो निर्णयमा भने यथावत रहे । यो निर्णयका पक्षमा सन्दीपका गडफादर मानिने वर्तमान क्रिकेट प्रशिक्षक रहेकाले पनि क्यानलाई निर्णयको बचाउ गर्न सजिलो भयो ।

यसैबीच क्यानले ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी र  सोमपाल कामीलाई ए ग्रेड र कमलसिंह ऐरीलाई सी ग्रेडमा राखेर नयाँ खेलाडी ग्रेडिङ पनि सार्वजनिक गरेको छ । १८ खेलाडी ग्रेडिङ गरिएकोमा ग्रेड ए मा ५, ग्रेड बी मा ६ र ग्रेड सी मा ७ रहेका छन् ।  ग्रेड ए मा मल्ल, ऐरी र कामीका अतिरिक्त कप्तान सन्दीप लामिछाने र खेलाडी कुशल भुर्तेल रहेका छन् ।

नयाँ बर्गीकरणको विवादसँगै क्रिकेट विवादको पछिल्लो प्रकरण थामथुम भएको छ । तर, जुन निर्णयका आधारमा सिर्जना भएको विवादका कारण मल्ल र ऐरीले कप्तान र उपकप्तान गुमाए , उनीहरूमाथि भने न्याय भएन । हुनुपर्ने चाँहि के थियो भने जुन विवाद सिर्जना गर्ने निर्णय नै फिर्ता भएपछि त्यस निर्णयलाई टेकेर सिर्जना भएको परिस्थितिले भएको कारबाही पनि स्वत: फिर्ता हुनुपर्ने थियो ।

प्रकाशित मिति: : 2022-01-28 04:18:00

प्रतिकृया दिनुहोस्