मिडफिल्डर रवि शंकर पासवानको दुई गोलसँगै बुधबार नेपाल पुलिस क्लबले च्यासल यूथ क्लबलाई २–१ अन्तरले पराजित गर्यो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको एक मात्रै खेलसँगै सहिद स्मारक ए डिभिजन लिगको नवौं चरणका खेल सकिएका छन्। यस जितसँगै विभागीय टोली पुलिसले आफ्नो रेलिगेसन संकट टारेको छ।
राष्ट्रिय टोलीका सदस्य समेत रहेका रविले दुवै हाफमा एक एक गोल गरेपछि पुलिस महत्त्वपूर्ण तीन अंक हासिल गर्दै लिग तालिकाको १०औं स्थानमा उक्लियो। पुलिससँग ९ खेलबाट २ जित, ४ बराबर र ३ हारसँगै १० अंक छ। गोल अन्तरको आधारमा पुलिस अर्को विभागीय टोली एपीएफ फुटबल क्लबभन्दा एक स्थान तल छ।
लिगमा दोस्रो जित निकाल्ने क्रममा रविले ३७ र ७०औं मिनेटमा दुई गोल गरे। उनको लिगमा पहिलो गोलसमेत हो। पहिलो गोल भने अप्रत्याशित रह्यो। तेज तामाङबाट प्राप्त बललाई रविले क्रस गर्दै फरवार्ड सुमन लामालाई दिने प्रयासमा थिए । संयोग बल घुम्दै गोलरक्षक अर्पण कार्की अगाडि बढेको अवस्थामा जाली चुम्न पुग्यो।
दोस्रो गोलमा भने रविले उत्कृष्ट फिनिसिङ गरे। सुमन लामाले दिएको ‘थ्रु’ बललाई रविले च्यासलका कप्तान बिराज महर्जन र गोलरक्षक कार्कीलाई बिट गर्दै सहज गोल गरे।
यस अघि पाएको पेनाल्टी सदुपयोग गर्दै च्यासलका मौसा अबागानाले ५३औं मिनेटमा बराबरी गोल गरेका थिए। तर रवि लगातार खेलमा छाउँदा च्यासल लिगमा सातौं हार बेहोर्न बाध्य भयो। जारी लिगमा च्यासलको एक मात्रै जित रहेको छ।
हारसँगै च्यासलको रेलिगेसन सम्भावना बढेको छ। यदि पुलिसविरुद्धको जितले च्यासल रेलिगेसन क्षेत्रबाट बाहिर आउन सक्थ्यो। ९ खेलबाट ५ अंक बनाएको च्यासल तेह्रौँ स्थानमा छ। यता, समान खेलबाट ३ अंक बनाएको फ्रेण्ड्स पुछारमा छ।
पुलिसको जितसँगै ब्रिगेड ब्वाइज क्लब ९बीबीसी०लाई समेत दबाब बढ्दै गएको छ। एक जित निकालेको बीबीसीसँग ६ अंक रहँदा १२औं स्थानमा छ।
नेपाल पुलिस क्लबका प्रशिक्षक अनन्त राज थापा टोलीले सोचेझैँ तीन अंक पाएको र बाँकी खेलमा समेत यस्तै नतिजा निकाल्दै लिगमा सुरक्षित स्थानमा रहने बताउँछन्।
‘आजको खेलमा जसरी पनि तीन अंक चाहिएको थियो। सोही अनुसार खेल नियन्त्रणमा लियौं। अब, बाँकी खेलमा रेलिगेसनबाट जोगिए पनि सुधारिएको खेल दिँदै सुरक्षित स्थानमा लिग सक्काउँछौं।’ नेपाल पुलिस तथा नेपाल राष्ट्रिय टोलीका पूर्व खेलाडी थापा भन्छन्।
यससँगै शीर्ष डिभिजन लिगका ६३ खेल समाप्त भएका छन्। अब, बाँकी चार चरणका खेल हुनेछन्। प्रत्येक टोलीले चार खेल खेल्नेछन्।
नवौँ चरणको समाप्तिसँगै लिगमा १२५ गोल पुरा भएको छ। लिगमा चार आत्मघाती गोल भए। जसमा दुई ह्याट्रिक रहे। दुवै ह्याट्रिक विदेशी खेलाडीको नाममा छ। नवप्रवेशी सातदोबाटो यूथ क्लबका नाइजेरियन फरवार्ड अजयी मार्टिन्स र मनाङ मर्स्याङ्दी क्लबका नाइजेरियन फरवार्डले ह्याट्रिक पुरा गरे।
आफिज छ गोलसँगै उच्च गोलकर्ताको शीर्षस्थानमा छन्। यता, गोल्डेन बुटको दौडमा माटिन्स र सुनिल बलसँगै रहेका छन्। सुनिल र मार्टिन दुवैको समान पाँच गोल छ। यस्तै विभागीय एपीएफका आशिष् लामा ४ गोल सहित चौथो स्थानमा छन्। लिगमा तीन गोल गर्ने १२ खेलाडी रहेका छन्। यस्तै दुई गोल गर्ने खेलाडी १३ छन् भने एक गोल गर्ने खेलाडी ३९ पुगे।
यस चरणमा कुल सात खेल हुँदा १८ गोल भए। औषमा २ दशमलव ५७ गोल भए। नवौं चरणमा आइपुग्दा पहिलो पटक कुनै पनि खेल नतिजा विहीन हुन पाएनन्।
नवौं चरणको समाप्तिमा २३ अंक बनाएको मछिन्द्र फुटबल क्लब शीर्षस्थानमा छ। उसलाई पछ्याएको मनाङ १९ अंक सहित दोस्रो स्थानमा छ। त्रिभुवन आर्मी फुटबल क्लब १७ अंक सहित तेस्रो स्थानमा रहँदा थ्रीस्टार १६ अंक सहित चौथो स्थानमा छ भने १४ अंकको संकटा पाँचौँ स्थानमा छ।
न्युरोड टिम एनआरटी १३ अंकसहित छैटौं स्थानमा, सातदोबाटो १२ अंकसहित सातौं र हिमालयन शेर्पा क्लब ११ अंकसहित आठौं स्थानमा छ। समान १० अंकका एपीएफ र पुलिस क्रमशः नवौं स्थान र १०औं स्थानमा छन्। ८ अंकको जावलाखेल यूथ क्लब ११औं स्थानमा रहँदा बीबीसी, च्यासल र फ्रेण्डस् क्रमशः १२औं, १३औं र १४औं स्थानमा छन्। पुछारका दुई टोली ‘बी’ डिभिजन लिगमा घटुवा हुनेछन्।
नवौं चरणको नतिजा
नेपाल एपीएफ फुटबल क्लब १–० हिमालयन शेर्पा क्लब
मनाङ मर्स्याङ्दी क्लब १–२ सातदोबाटो यूथ क्लब
फ्रेण्ड्स क्लब १–३ त्रिभुवन आर्मी फुटबल क्लब
थ्रीस्टार क्लब १–० संकटा
ब्रिगेड ब्वाइज क्लब ०–४ मछिन्द्र फुटबल क्लब
न्युरोड टिम एनआरटी २–० जावलाखेल यूथ क्लब
नेपाल पुलिस क्लब २–१ च्यासल यूथ क्लब