हिमालयन शेर्पा क्लबसँग १-१ को बराबरी रोकिएसँगै सहिद स्मारक ए डिभिजन लिग फुटबलमा त्रिभुवन आर्मी क्लबले अंक बाढेको छ। बुधबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा १० खेलाडीमा समेटिएको आर्मी सुरुआती अग्रता जोगाउन नसक्दा बराबरीमा रोकिएको हो।
खेलको २६औँ मिनेटमा कप्तान जर्ज प्रिन्स कार्कीले गोल गर्दै आर्मीलाई सुरुआती अग्रता दिलाएका थिए। तर, खेलको ६५औँ मिनेटमा मुताम्बा पिस्टोनले गोल गर्दै हिमालयनलाई १-१ गोलको बराबरीमा ल्याए।आर्मीका गोलकिपर विकेश कुथुले इन्जुरी समयमा रातो कार्ड पाएपछि आर्मी १० खेलाडीमा सिमित भयो । बराबरीसँगै आर्मीले ११ खेलमा १९ अंक जोडेको छ। आर्मी लिगको तेस्रो स्थानमा छ। हिमालयनले ११ खेलमा १३ अंक जोडेको छ।
यता, सातदोबाटो युथ क्लबलाई १-० अन्तरले पराजित गर्दै मछिन्द्र फुटबल क्लबले सहिद स्मारक ए डिभिजन लिग फुटबलको उपाधि लगातार दोस्रो पटक जितेको छ।बुधबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मछिन्द्रलाई जित दिलाउन विदेशी खेलाडी नोर्लान नोभ्रुजोभले निर्णायक गोल गरे । खेलको ५३औँ मिनेटमा अजरबैजानका खेलाडीले निर्णायक गोल गरेका हुन्।
जितसँगै शीर्ष स्थानको मछिन्द्रले ११ खेलमा २९ अंक जोडेको छ । मछिन्द्र दोस्रो स्थानको मनाङ मर्स्याङ्दी भन्दा ९ अंकले अघि रहेको छ। मनाङको २० अंक रहेको छ। सातदोबाटोले ११ खेलमा १५ अंक जोडेको छ। सातदोबाटो छैटौँ स्थानमा रहेको छ।यसअघि मछिन्द्रले २०७६ सालमा पहिलो पटक शीर्ष डिभिजन लिगको उपाधि जितेको थियो।