रुपबहादुर लामा र ओन्गुना जुनियरको गोल प्रेरित जावलाखेल युथ क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा हिमालयन शेर्पा क्लबलाई २–१ अन्तरले पराजित गरेको छ। आइतबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा प्राप्त जितसँगै जावलाखेलले रेलिगेसन जोनका सम्भावित डर टारेको छ।
जावलाखेलको जितमा रुपबहादुर र जुनियरले गोल गर्दा शेर्पाका अमृत श्रेष्ठले सान्त्वना फर्काए।खेलको १५औँ मिनेटमा रुपबहादुरले गोल गर्दै जावलाखेललाई सुरुवाती अग्रता दिलाए। उनको कर्नर प्रहार आकर्षक रुपमा जाली चुमेको थियो। राष्ट्रिय टोलीका गोलरक्षक समेत रहेका दीप कार्कीले उनको प्रहार गोलमा रुपान्तरणा भएको ठम्याउनै सकेनन्।
७१औँ मिनेटमा अमृतले गोल गर्दै हिमालयनलाई १–१ को बराबरीमा ल्याए। प्राप्त बललाई सिक्स यार्ड बक्समा नियन्त्रणमा लिँदै अमृतले बाइसाइकल गोल गरेका थिए।निर्धारित समयको खेल सकिन दुई मिनेटअघि ओन्गुनाले गोल गर्दै जावलाखेललाई २–१ को जित दिलाए ।
जितसँगै जावलाखेल १२ खेलबाट १३ अंक सहित नवौँ स्थानमा उक्लिएको छ। समान अंक भए पनि उसले शेर्पालाई हेड टु हेडमा पछि पारेको हो। शेर्पा १०औँ स्थानमा छ।
्