युक्रेन–रूसबीच शान्तिवार्ताको तयारी

बिएल संवाददाता

किभ, युक्रेन

युक्रेनी र रूसी प्रतिनिधिहरूबीच बेलारूस–युक्रेन सीमाक्षेत्र चेर्नोवाइलमा आजै शान्तिवार्ता सुरू हुने जनाइएको छ।

वार्तामा को–को सहभागी हुन्छन् भन्नेबारे विस्तृत रूपमा खुलाइएको छैन। बेलारूसी सरकारी सञ्चारमाध्यमले एउटा पूर्वनिर्धारित वार्तास्थलको तस्बिर छापेको छ।

दुई पक्षबीच आइतवार नै वार्ता हुने तय भएको थियो। तर बन्दोबस्ती र सुरक्षाको कारणले ढिलो भएको किभले जनाएको छ। युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले वार्ताबाट सकारात्मक परिणाम आउनेमा विश्वास नभएको बताएका छन्।

रूसी आक्रमणको विरूद्धमा सशक्त प्रतिकार गरेर मुख्य सहरहरूमा आफ्नो नियन्त्रण कायम राख्दै युक्रेनले रूससँग छलफल गरेर अगाडि बढ्ने बाटो खोज्न थालेको बीबीसीले जनाएकाे छ।

रूसी राष्ट्रपति पुटिनले रक्षा प्रमुखहरूसँग आणविक ‘प्रतिरोधी बल’लाई उच्च सतर्कतामा राख्न आदेश दिएपछि युक्रेनले वार्ता र प्रतिकार सँगसँगै लैजान खोजेको हो।

युक्रेनी राष्ट्रपति जेलेन्स्की र बेलारूसका नेता अलेक्जेन्डर लुकाशेन्कोबीचको वार्तापछि किभ मस्कोसँग वार्ता गर्न तयार भएको हो।

प्रकाशित मिति: : 2022-02-28 13:43:00

प्रतिकृया दिनुहोस्