पशुपतिनाथमा नेपाली पुजारी राख्न ठूलो आँट र साहस चाहिन्छ : गोपाल किराँती

File Photo
File Photo

माओवादी कम्युनिस्ट पार्टी नेपालका संरक्षक गोपाल किराँतीले पशुपतिनाथ मन्दिरमा नेपाली पुजारी राख्न ठूलो आँट र साहस चाहिने बताएका छन्। सानो प्रयासले पशुपतिनाथमा भारतीय पुजारी हटाएर नेपाली पुजारी राख्न नसकिने उनको भनाइ छ।

२०६५ सालमा पुष्पकमल दाहाल प्रचण्ड सरकारका तत्कालीन संस्कृतिमन्त्रीसमेत रहेका किराँतीले पशुपति मन्दिरमा नेपाली पुजारी नियुक्ति गर्दा विवाद भएको थियो। त्यतिबेला किराँतीले पशुपति क्षेत्र विकास कोषको सदस्यसचिवमा परमानन्द शाक्यलाई नियुक्त गरेपछि भारतीय मूलका मूल भट्ट महाबलेश्वरले राजीनामा दिएका थिए।

आफूलाई काम गर्न अप्ठेरो परेको कारण देखाउँदै भट्ट बाहिरिएका थिए। उनले राजीनामा दिएपछि मन्दिरका अन्य दुई जना पुजारीले पनि राजीनामा दिएका थिए।

पुजारीहरूले राजीनामा दिएको दुई महिनापछि सरकारले पशुपतिनाथको मूल पुजारीमा नुवाकोटका डा.विष्णुप्रसाद दाहाललाई नियुक्त गरेको थियो। तर उक्त नियुक्तिको व्यापक विरोध हुनुका साथै मन्दिरको पूजाआजा पनि अवरुद्ध भएको थियो। माओवादी कम्युनिस्ट पार्टी नेपालको संरक्षक किराँतीले नेपालीले नै नेपाली पुजारीको विरोध गर्दा भारतीय पुजारीले स्थान पाएको बताए।

‘आफ्नै देशमा योग्य पुजारी हुँदाहुँदै भारतबाट झिकाउनुपर्ने अवस्था आउनु दुखद हो साथै पशुपति क्षेत्र विकास ऐन २०४५ विपरीत पुजारी नियुक्ति भएको छ। पशुपती क्षेत्र विकास सञ्चालक परिषदको पदेन सदस्य नेपाली नागरिक हुनुपर्ने ऐनमा व्यवस्था भएको स्थानमा भारतीयलाई ल्याएर राख्दा म संस्कृतिमन्त्री हुँदा विरोध गरेको थिए। तर नेपालीलाई नियुक्ती गर्दा नेपाली जनताले नै विरोध गरे,’ किराँतीले भने, ‘म कम्युनिस्ट हुँ पूजाआजा र धर्म मान्दिनँ, तर आस्था राख्ने नेपालीले आफ्नै देशको पुजारीलाई मन्दिरमा देख्न पाउन् भन्ने मेरो उद्देश्य थियो, तर विरोध भयो र भारतीय पुजारीकै निरन्तरता छ।’

पशुपति मन्दिरलाई भारतीय सांस्कृतिक उपनिवेशको अखडा बनाइएको किराँतीको आरोप छ। 

प्रकाशित मिति: : 2022-03-01 13:08:00

प्रतिकृया दिनुहोस्