कन्काई नगरपालिकाले अझै जोडेन अक्सिजन प्लान्ट, मेयरको मनपरीले आक्रोशित भए दाता

File Photo
File Photo

झापाको कन्काई नगरपालिकाले अक्सिजन प्लान्ट स्थापना गर्ने घोषणा गरेको करिव एक वर्ष हुन लाग्यो। २०७७ चैतमा नगरपालिकाले अक्सिजन प्लान्ट बनाउने घोषणा गरेको थियो। घोषणासँगै आर्थिक संकलन थालेको नगरपालिकाले अहिलेसम्म प्लान्ट सञ्चालनमा ल्याउन सकेको छैन।

आउँदो चैत महिनामा सो अभियान सञ्चालन गरेको एक वर्ष पुग्दैछ। प्लान्ट बनाउन सहयोग गर्ने दाताहरु अहिलेसम्म नगरपालिकाले प्लान्ट शुरु नगर्दा अन्यौलमा परेका छन्। नगरप्रमुख राजेन्द्र पोखरेलले तीन मिहनाभित्र प्लान्ट स्थापना गर्ने घोषणा गरेका थिए। उनले भनेको तीन महिनापछि थप ६ महिना बितिसकेको छ।

कोरोना महामारीमा अक्सिजनको हाकाकार भइरहेको बेला कन्काई नगरपालिकाले प्लान्ट नै बनाउने घोषणा गरेको थियो। तत्कालिन महामारीको पीडामा सबैले प्लान्टका लागि मन खोलेर सहयोग गरेका थिए। कोभिडका विरामीलाई लक्षित गरेर थालिएको अभियान संक्रमण दर लगभग सकिएपछि पनि प्लान्ट शुरु गर्न आवश्यक उपकरण आइसकेको छैन। 

नगर प्रमुख राजेन्द्र पोखरेलले १४औं गणतन्त्र दिवसका दिन आफ्नै पारिश्रमिक उपलब्ध गराउँदै थालिएको अभियानमा देश विदेशबाट मात्रै ५७ लाख ९२ हजार २ सय ६२ रुपैयाँ संकलन भइसकेको छ। स्थानीय दाता, संघसंस्था, जनप्रतिनिधि, कर्मचारी, विधार्थी लगायतले कोभिड संक्रमतिको उपचारमा सहयोग गर्न आर्थिक सहायता गर्दा पनि समयमा जडान हुन नसक्दा अभियानकै आलोचना भइरहेको छ।

कन्काई नगरपालिकाले ढिलाई हुनुमा विभिन्न प्राविधिक समस्या भएको प्रतिक्रिया दिदैं आएको छ। पहिलो टेण्डरमा कसैले पनि आवेदन नदिएपछि नगरपालिकाले दोस्रो पटक टेण्डर गरेको थियो, योजना शाखा प्रमुख विवेक भण्डारी भन्छन्,– अहिले सम्झौता भइसकेको छ। सम्झौताको तीन महिनाभित्र जडान गर्नुपर्ने व्यवस्था मिलाइएको छ।

अक्सिजन भर्ने (रिफिलिङ ) सहितको प्लान्ट जडानका लागि कन्काईसँग सातदोबाटोको एभरेष्ट लाइन कम्पनीसँग सम्झौता गरेको योजना शाखा प्रमुख भण्डारीले जानकारी दिए। उनका अनुसार १ करोड ५९ लाखमा सम्झौता सम्पन्न भएको छ। 

युरोपियन स्टाण्डरको उपकरण ल्याउने गरि सम्झौता भएको छ, भण्डारीले भने– उच्च स्तरको उपकरण ल्याउने भनेकाले पनि अलि ढिला भयो। नगरमा बसेको सर्वदलीय बैठकमा सहयोगका लागि सार्वजनिक रुपमा सहयोगको आव्हान समेत गरिएको थियो। 

१ करोड दाताबाट उठाउने र बाँकी रकम नगरले व्यवस्था गरेर २ करोडको मेसिन जडान गर्ने सोच नगरपालिकाले बनाएको थियो। तर, नगरपालिकाको आव्हानमा १ करोड जुटेन। लक्ष्य अनुसारको बजेट नजुटेपछि डेढ करोड बढिको ठेक्का सम्झौता गरिएको छ। 

कन्काई नगरपालिकाले गएको माघ ११ गते मात्रै ठेक्का सम्झौता गरेको कामजातबाट खुलेको छ। मेयर पोखरेलले १० लाखको चेक दिएको ९ महिनापछि मात्रै ठेक्का सम्झौता भएको पाइएको छ। 

झापामा एकका लागि एक अभियानले अक्सिन बैंक स्थापना गर्दा सबै स्थानीय तहलाई सहयोगका लागि आव्हान गरेको थियो। त्यही बेला कन्काईले भने आफै अक्सिजन प्लान्ट राख्ने घोषणा गरेको थियो। अभियानले तत्कालै अक्सिजन सिलिण्डर ल्याएर संक्रमितलाई सेवा दियो भने कन्काईले हालसम्म काम सकेको छैन। 

सहयोग फिर्ता हुनुपर्छ: प्रसाई

नेपाली कांग्रेस कन्काईका सभापति दुर्गा प्रसाईले दाताले सहयोग गरे अनुसार नगरपालिकाले काम नगरेको बताएका छन्। उनले तत्कालै प्लान्ट जडान नगरे दाताको सहयोग फिर्ता गर्न माग गरेका छन्। 

केही समयअघि पालिकालाई खवरदारी गरे पनि नगरले खासै चासो नगरेको बताए। सभापति प्रसाईले भने,‘शुरु गर्न र व्यवस्थापनका लागि दुई पटक बैठकमा बसिएको थियो। त्यसपछि के भइरहेको छ जानकारी छैन।’ 

उनले नगरले अभियान थालेर लक्ष्य अनुरुप काम गर्न नसक्दा लाजमर्दो भएको बताए। ‘सबैले उत्साहित भएका सहयोग गरेका थिए, तर उत्साहको भावना मर्मलाई नगरले बुझ्न सकेन’, उनले थपे।

चकित छु: माओवादी अध्यक्ष

माओवादी केन्द्रका कन्काई अध्यक्ष यामनाथ सेंडाइले आफू पनि अक्सिजन प्लान्ट नजोडिएकोमा चकित भएको बताएका छन्।

‘सर्वदलीय बैठकले नै निर्णय गरेको थियो, मेयरले तत्कालै जडान गर्ने भन्नुभएको थियो’, उनले भने,‘अहिलेसम्म जडान नहुँदा हामीलाई पनि कौतुहलता लागेको छ।’

संकलन भएको पैसा कहाँ छ, काम के भइरहेको छ, नगरबासी समेत अनविज्ञ भएको उनको भनाई छ। नगरपालिकाले निकै महिनादेखि सर्वदलीय बैठक समेत नबसाएको सेडाईले बिएल नेपाली सेवालाई बताए। 

सामान भन्सारमा छ: ठेकेदार कम्पनी

प्लान्टका लागि ठेक्का पाएको एभरेष्ट लाइनका प्रतिनिधि आयुस जोशीले रिफिलिङ गर्ने उपकरण बाहेक अन्य सामग्री नेपाल आइसकेको बताएका छन्। उनले अन्य सामान भन्सारमा रहेको जानकारी दिए। 

कम्पनीका प्रतिनिधि जोशीले टर्कीबाट सामान आयात गरिएको बताएका छन्। उनले फागुनको अन्तिमसम्ममा जडान गर्ने योजना सुनाए। 

मेयरलाई नै सोध्नु: प्रवक्ता 

कन्काई नगरपालिकाका प्रवक्ता गोविन्दप्रसाद पौडेलले यसबारे आफू जानकार नभएको जानकारी दिए। उनले किन ढिलाई भएको हो भन्ने विषयमा बुझ्न मेयरलाई नै सोध्नुपर्ने बताएका छन्।

कार्यपालिकाबाट निर्णय भएको विषय नभएकाले यसबारे आफूलाई थाहा नभएको उनको भनाई छ। प्रवक्ता पौडेलले भने,– मेयर सावको अभियान भएकाले किन ढिलाई भयो ? उहाँलाई थाहा हुन्छ। 

यसबारे बुझ्न पटकपटक सम्पर्क गर्दा मेयर राजेन्द्र पोखरेलसँग सम्पर्क हुन सकेन।

प्रकाशित मिति: : 2022-03-02 19:48:00

प्रतिकृया दिनुहोस्