स्पाई युनिभर्सको बनाउँदै यशराज फिल्मस, शाहरुख, सलमान र ऋतिक सँगसँगै

File photo
File photo

हलिउडमा मार्भल स्टुडियोको एभेन्जर्स र डिसीको जस्टिस लिगले पाएको सफलताले पनि सुपरहिरोहरू भनौं वा स्टारलाई एकसाथ ल्याउँदको फाइदा प्रस्ट्याइसकेको छ। बलिउडमा पनि पछिल्लो समय निर्देशक रोहित शेट्टीले ‘कप युनिभर्स’ निर्माण गरिरहेका छन्। उनको फिल्म सिंघम, सिम्बा र सूर्यवंशीलाई उनले एकसाथ फिल्ममा ल्याइसकेका छन्। 

शेठ्ठीले सिम्बामा सिंघम र सूर्यवंशीलाई सानो भूमिकामा भित्र्याएका थिए भने ‘सूर्यवंशी’ मा सिंघम र सिम्बाको राम्रै भूमिका थियो। यसैलाई मध्यनजर गर्दै बलिउडको ठूलो कम्पनी यशराज फिल्म्सले पनि आफ्नो सफल स्पाई क्यारेक्टरलाई लिएर ‘स्पाई युनिभर्स’ क्रिएट गर्ने भएको छ। 

टाइगर सिरिज र वारको सफलतापछि यशराज फिल्म्सका आदित्य चोपडाले ‘पठान’ फिल्म निर्माण गरेका छन्। सिद्धार्थ आनन्दको निर्देशनमा तयार भइरहेको फिल्ममा शाहरूख खान, जोन अब्राहम र दीपिका पादुकोण मुख्य भूमिकामा छन्।

‘जिरो’ को असफलतापछि पर्दामा नदेखिएका शाहरूख यसै फिल्ममार्फत पुनः एकपटक एक्सन अवतारमा प्रस्तुत हुँदैछन्। एक्सन थ्रिलर फिल्म ‘पठान’ लाई २५ जनवरी २०२३ मा हेर्न पाइने छ। निर्माण कम्पनीले भिडियोमार्फत फिल्मको रिलिज डेट घोषणा गरेको हो। फिल्मको सार्वजनिक झलकमा जोन र दीपिका देखिए पनि पठान अर्थात् शाहरूखको गेटअप रिभिल गरिएको छैन।

फिल्ममा सलमान खान पनि देखिने छन्। उनी फिल्ममा टाइगर अर्थात् अविनाशसिंह राठौरको भूमिकामा प्रस्तुत हुनेछन्। उनको ‘टाइगर’ अवतारलाई फिल्ममा सिद्धार्थले जोडेका छन्। 

पठानको कथाले ‘टाइगर ३’ मा निरन्तरता पाउने भएपछि शाहरूख र सलमानलाई एक्सन रोलमा हेर्न चाहने दर्शक निकै खुसी छन्। ‘स्पाई युनिभर्स’मा यसअघि नै यशराज फिल्म्समार्फत स्पाई क्यारेक्टरमा दर्शकले रुचाइसकेका अनुहारहरू हुनेछन्। सलमानले ‘पठान’ मा केमियो गरिसकेका छन् भने ‘टाइगर’ को आउँदो सिरिजमा शाहरूखले पनि केमियो गरेका छन्। यद्यपि ‘स्पाई युनिभर्स’ का अर्का सदस्य ऋतिक रोशन (कबिर-वार) अझै भित्रिएको खबर छैन।

दर्शकले ऋतिकले पनि ‘पठान’ मा केमियो गरेको हुनसक्ने अनुमान गरिरहेका छन्। यद्यपि आदित्य र सिद्धार्थले केही बोलेका छैनन्। तर, उनले ‘स्पाई युनिभर्स’ मा सलमान र शाहरूखसँगै ऋतिक पनि रहने प्रस्ट्याइसकेका छन्। टाइगर सिरिज र पठानमा तीनैलाई दर्शकले पर्दामा देख्न नपाए पनि ‘वार २’ मा भने पाउनेछन्।

प्रकाशित मिति: : 2022-03-03 16:50:00

प्रतिकृया दिनुहोस्