एन्फाले पत्र काटे पनि एनएसएलको अक्सन नरोकिने !

फ्रेन्चाइज फुटबलको नेपाल सुपर लिग (एनएसएल)को आयोजकले अखिल नेपाल फुटबल संघ (एन्फा)को आग्रहका बावजुद अक्सनलाई भोलि (शुक्रबार) तोकिएकै समयमा गर्ने तयारी गरेको छ। 

एनएसएल आयोजक कमिटीका एक पदाधिकारीले भोलिका लागि सबै तयारी भइसकेको र एन्फासँगको मौखिक सहमतिमै  मिति राखिएकाले नरोक्ने बताए। 

एन्फाले भने भोलिको अक्सन रोक्न पत्र काटेको थियो। एन्फाका पदाधिकारी र असन्तुष्ट ८ क्लबबीच शुक्रबार बसेको बैठकले स्थगित गर्न एनएसएलको आयोजक नेपाल स्पार्ट्स एन्ड इभेन्ट म्यानेजमेन्ट प्रालीलाई पत्र काटेको थियो।

आफूहरूसँग अनुबन्ध भएका खेलाडी धमाधम एनएसएलले करार गर्न थालेको र आफ्नो क्लबबाट दर्ता रहेका खेलाडीलाई समावेश गरेर अक्सन गर्ने कुराप्रति सहिद स्मारक ए डिभिजन लिग च्याम्पिनयन मछिन्द्र क्लबसहित आठ क्लबले गम्भीर ध्यानाकर्षण गराउँदै आएको थियो।

आयोजक एनइएसएमले सोल्टीमा बिहान १० बजे अक्सनका लागि तयारी गरेको थियो। यद्यपि, त्यसप्रति आपत्ति जनाउँदै एन्फा पुगेका आठ क्लब र उपलब्ध एन्फाका पदाधिकारीबीचको छलफलले भोलिको अक्सन रोक्न एनइएसएमलाई पत्र काट्ने निर्णय गरेको थियो। 

बैठकमा वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्बाङ, उपाध्यक्ष उपेन्द्रमान सिंह, मानार्थ उपाध्यक्ष शिक्षित पराजुली, महासचिव इन्द्रमान तुलाधारसँगै कार्यसमिति सदस्यहरू पूर्णमान चित्रकार, रत्नकुमार श्रेष्ठ, दावा लामा, विजय घलेलगायतको उपस्थिति थियो।

प्रकाशित मिति: : 2022-03-03 20:02:00

प्रतिकृया दिनुहोस्