एमसीसीको छालमा

उकेरा

किशोर नेपाल

खटपटको लामै चरणपछि कांग्रेसका सभापति, गठबन्धनका नेता तथा प्रधानमन्त्री शेरबहादुर देउवासँग सहज हुनुभएका नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ कांग्रेसका कार्यकर्ताहरुलाई ‘हल्का’ सम्झाउँदै हुनुहुन्थ्यो, 'देउवाजीको नेतृत्वमा यो सरकार हामीले बनाएका हौं। सरकार पक्षका साथीहरुबाट हामीलाई हेप्ने धृष्टता नगरियोस्। साथीहरुले विचार गर्नुहोला, सरकार बनाउनेले भत्काउन पनि सक्छ।’

यो प्रचण्डजीको वाक्यको जस्ताको तस्तै उतार होइन। आसय मात्रै हो। यति भनेपछि नेपाली अनलाइनका प्रबुध्द पाठकले कुरा पक्कै बुझ्नेछन्। 

बितेका केही दिन नेपालको राजनीति निकै अलमलमा पर्‍यो। राजनीतिक सरगर्मीमा नेताहरु ताते। सरकारको नेतृत्व गर्ने कांग्रेस पार्टी र त्यसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी कम्प्याक्ट संसदबाट अनुमोदन नगराई नछोडने जिद्दी गर्नुभयो। 

अमेरिकी सरकारले नेपालमा बिजुलीको तार तान्ने र सडक खन्ने कामका लागि पठाएको साठी करोड डलरको ‘एमसीसी कम्प्याक्ट’ नामको नगद उपहार दिने सम्झौतालाई संसदबाट अनुमोदन गराउने प्रस्ताव गरिएको थियो। यस्तो प्रस्ताव कुन ध्येय पूरा गर्न कसको इशारामा गरिएको थियो? कसैले थाहा पाएको देखिएन।  

प्रधानमन्त्री देउवाले यो प्रस्तावलाई संसदबाट अनुमोदन नगराई नछोडने ढिपी कस्नु भएपछि गठबन्धनका मुख्य सदस्य माओवादी पार्टी र अन्य बामपन्थी सदस्यहरु कांग्रेससँग कुपित र दुःखित भए। उनीहरु एमसीसीका बिरुध्द नाराबाजीमा लागे। त्यसपछि कुरा मिलाउन प्रधानमन्त्री देउवा बालुवाटारबाट बालकोट र बालकोटबाट खुमलटारको दौडमा लाग्नु भयो। 

प्रकाशित मिति: : 2022-03-11 22:20:00

प्रतिकृया दिनुहोस्