प्रकाश सपुतको ‘पिर’ : माओवादीलाई मात्रै किन घेराबन्दी ?

Breaknlinks
Breaknlinks

गायक प्रकाश सपुत आफ्नो नयाँ म्युजिक भिडियो ‘पिर’को विषयले चर्चामा छन्। सो भिडियोको श्रव्य दृश्यमार्फत् जनयुद्धमा होमिएका तत्कालीन लडाकुहरुको वस्तुस्थितिमा आधारित भएर चित्रण गरेको छ। यसका साथै, माओवादी नेता सत्तामुखी भएपछि आफ्नै लडाकुहरुलाई बिर्सेको सो भिडियोमार्फत् सन्देश पनि दिन खोजिएको देखिन्छ।

प्रजातान्त्रिक मुलुकमा पार्टी र नेताहरुको समर्थन र विरोधको विषयलाई सामान्य रुपमा लिइन्छ। तर, सो भिडियोमा जनयुद्धमा होमिएकी एक महिलालाई घर खर्च धान्न यौंनकर्मी बन्नु परेको विषय समेटेपछि विवादित बनेको हो।

अहिले सो विषयको उठान गरी प्रकाशले ‘पिर’को व्यापक रुपमा बजारीकरणका साथै आफ्नो थप पहिचान बन्ने उद्देश्य लुकेको देखिन्छ। अर्को, दृष्टिकोणले हेर्दा, वैशाख ३० गते स्थानीयतहको निर्वाचन हुनेछ। कतै, नेकपा(माओवादी) केन्द्रलाई सो भिडियोमार्फत् राजनीतिक रुपमा क्षति पुर्‍याउने मनसाय त छैन् ? भन्ने रुपमा पनि अर्थ्याउन सकिन्छ।

सो भिडियोमार्फत् माओवादी पार्टीलाई जनयुद्धको औंचित्य र लडाकुहरुको अवस्थाको विषयमा ध्यानाकर्षण गराएको देखिन्छ। अब यसका साथै, जनयुद्धको विषयमा पुनः बहसको सम्भावना निम्तिएको छ।

नेपालमा प्रजातन्त्र पुनःस्थापना ०४६/०४७ सालमा भयो। २०५२ साल फागुन १ गतेदेखि माओवादी सशस्त्र सङ्घर्षको बाटो अख्तियार गर्‍यो। संसदीय व्यवस्था लागू भएको छोटो अवधि चार वर्षकै कार्यकालको आधारमा संसदीय व्यवस्था फापेन भनेर सशस्त्र सङ्घर्षको मार्ग छनोट गरेको देखिन्छ। सो दश वर्षको जनयुद्धको अवधिमा मुलुकले धेरै ठूलो मूल्य चुकाउनु पर्‍यो। शान्तिप्रिय नेपाली विगत दश वर्ष आतङ्कमैं बिताए। १७ हजारको हाराहारीमा नेपालीको मृत्यु भयो। यत्रो ठूलो क्षतिको उपलब्धि के ? के माओवादीले जनयुद्धको औंचित्य पुष्टि गर्न सक्छन् ? अन्तोगत्वा, संसदीय व्यवस्था अफाप भनेर सशस्त्र सङ्घर्षको बाटो अख्तियार गरेका माओवादी पुनः फर्केर संसदीय व्यवस्थामैं चित बुझाए।

२०६१ सालमा ज्ञानेन्द्रले सत्ता आफ्नो हातमा लिएपछि राजाबाट विमुख भई दलहरु विधिवत रुपमा गणतन्त्रको पक्षमा उभिने निर्णय गरी आन्दोलन गरेको थियो। २०६२/०६३को जनआन्दोलन सफल भएपछि माओवादी राष्ट्रिय मूलधारमा समाहित भयाो। संविधानसभाको पहिलो बैठकको निर्णयबाट मुलुक गणतान्त्रिक राष्ट्र बन्यो। जनआन्दोलनको बदोलत मुलुक गणतान्त्रिक राष्ट्र बनेको छ र सो कार्यमा माओवादीको पनि महत्वपूर्ण भूमिका छ।

धेरै ठूलो रक्तपातपछि चीनमा माओत्सेतुङको जनयुद्ध सफल भएको थियो। पाँच लाखभन्दा बढी राष्ट्रिय सेना र सोही अनुपातमा लालसेनाको पनि मृत्यु भएको थियो। जनयुद्ध सफल हुनुको मुख्य कारकका रुपमा द्वितीय विश्वयुद्धमा जापानसँग चीनको पराजय लिइन्छ। किनभने, सो पराजयबाट जनतामा गहिँरो निराशा छाएको थियो। चीनमा गरीबी, बेरोजगारी, भ्रष्टाचार र सुरक्षाको व्यवस्था धेरै हदसम्म बिग्रेको थियो। सन् १९४९ अक्टुबर १ तारिखमा माओत्सेतुङले सत्ता कब्जा गरेपछि जनवादी गणतन्त्र चीनको रुपमा घोषणा भएको थियो।

चीनमा लालसेनाको सफलता देखेर भारतका भारतीय कम्युनिष्ट पार्टीका नेताहरुले पनि सोही आधारमा भारतमा कम्युनिष्ट शासन ल्याउने सोचाईका साथ आन्दोलन गरेका थिए। चारु मजुमदार र कानु सान्यालले १९६७ मा भारतको पश्चिम बङ्गालमा नक्सल आन्दोलन सुरु गरेका थिए।

पश्चिम बङ्गालको नक्सलबाडी गाउँमा सो आन्दोल नगर्ने निर्णय भएपछि ‘नक्सल आन्दोलन’ नामाकरण भएको थियो। वास्तवमा, नक्सल आन्दोलन माओवादी आन्दोलनकै अर्को रुपमा थियो। चारु मजुमदार  र कानु सान्यालले पश्चिम बङ्गालमा सुरु गरेको सशस्त्र आन्दोलनमा अनाहकमा थुप्रै व्यक्तिको हत्या भयो। सन् १९७२ मा आन्दोलन हिंसक भएपछि चारु मजुमदार पक्राउमा परे। उनलाई दश दिनको लागि कारागार पठाएको थियो। कारागारमै उनको निःधन भएको थियो। पश्चिम बङ्गालबाट सुरु भएको सो आन्दोलन विस्तार हुँदै विहार पुगेपछि आन्दोलन बाटो बिराएर जातीय प्रतिशोधको रुपमा परिणत भयो। जातीय वर्ग सङ्घर्षमा सो आन्दोलन परिणत भएपछि नक्सलवादी आन्दोलनका प्रणेता कानु सान्याललाई अन्ततः आत्महत्या गर्नु पर्‍यो।

चीनमा माओत्सेतुङ सफल भयो भने सोही नीतिको आधारमा नेपालमा सफल हुन्छ भन्ने सोच्नुनै आत्मघाती सोच थियो। चीनमा एउटै भाषा र समुदायको ९५ प्रतिशत भू–भागमा बसोवास छ। सो कारणले त्यहाँ जातीय आधारमा वर्ग सङ्घर्ष भएन्। नेपाल–भारतमा धर्म, संस्कृति, जातीयलगायत विभिन्न किसिमका रितीरिवाज छन्। यहाँका मानिस आफ्ना धर्म संस्कृतिवेगर बाँच्न सकिँदैनन्। स्वतन्त्र रुपमा बाँचेका छन्। पञ्चायतकाल पनि नागरिक परिबन्दमा बस्न तयार भएनन् भने प्रजातन्त्रको स्वाद पाइसकेका जनताले माओवादीको एकदलीय पद्धितलाई कसरी स्वीकार गर्छ भन्ने विषयमा गम्भीर रुपमा मनन् गर्नुपर्ने थियो।

२०४८ सालमा नेपाली काँग्रेसले बहुमत प्राप्त गरेर गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा सरकार गठन गर्‍यो। काँग्रेसभित्र कृष्णप्रसाद भट्टराई र गणेशमान सिंहसँग प्रधानमन्त्री कोइरालाको सम्बन्ध बिग्रदा सोको प्रतिकूल प्रभाव शासनशैलीमा पर्न थालेको थियो। अर्कोतर्फ, नेकपा(एमाले)ले प्रतिपक्षको भूमिका निर्वाह गर्नुभन्दा बढी संसद् अवरुद्ध गर्ने, सडक आन्दोलन गर्ने, कर्मचारी आन्दोलन, मदन भण्डारीको रहस्य मृत्युको विषय लिएर आन्दोलन र गिरिजाप्रसाद कोइरालाद्वारा संसद् विघटनलगायतका घटनाले गर्दा अधिकांश युवाहरुमा संसदीय व्यवस्थाप्रति वितृष्णा उत्पन्न भएको थियो। त्यसको फाईदा उठाएर माओवादीहरुको जोशिलो भाषणतर्फ युवाहरु आकर्षित भई हतियार उठाएका थिए।

माओवादीलाई मात्रै किन घेराबन्दी ?

सत्ताकेन्द्रित राजनीतिको कारण काँग्रेस, एमालेलगायतका पार्टीमा लामो समयसम्म पार्टीमा योगदान पुर्‍याएका कतिपय कार्यकर्ताहरु अहिले पनि ओझेलमा छन्। प्रजातन्त्र पुनःस्थापना भएपछि नेतासम्म पहुँच नपुगेका कतिपय व्यक्तिको पार्टीहरुले अहिलेसम्म मूल्याङकन गर्न सकेनन्। सत्ताकेन्द्रित राजनीति कतिको स्वार्थी हुँदोरहेछ भने २०६६ सालमा नेकपा एमालेको बल्खुस्थित मुख्यालयको परिसरको रुखमा पासो लगाएर नेकपा एमालेका ६२ वर्षीय डिगेन्द्र राजवंशीले आत्महत्या गरे। त्यो बेलामा प्रधानमन्त्री माधवकुमार नेपाल हुनुहुन्थ्यो।

उनी २०२८ सालको झापाको किसान बिद्रोहमा सहभागी भएको कारण दश वर्षसम्म नख्खु कारागारमा बसेका व्यक्ति हुन। केपी शर्मा ओली, राधाकृष्ण मैनाली, वीरेन राजवंशी, सिपी मैनाली, मोहनचन्द्र अधिकारीको उनका समकक्षी थिए। ०६२/०६३को जनआन्दोलनमा उनलाई झापा चन्द्रगढीमा खुट्टामा गोली लागेको थियो। दयनीय अवस्थामा रहेका उनले आफ्ना छोराको जागिरका लागि काठमाडौं आएका थिए। जागिरको लागि कतैबाट आश्वासन नपाएपछि उनले ‘कुन मुख लिएर घर फर्को’ सम्झेर आत्महत्या गरे। बुवाको शोकमा डुबेर अन्ततः चार महिनापछि उनका छोरा शम्भुले पनि आत्महत्या गरे। जनयुद्धको लडाकुभन्दा डिगेन्द्रको योगदान कम आक्न मिल्दैन्। मधेश आन्दोलनमा पनि सक्रिय भूमिका निर्वाह गर्नेहरु कतिपय व्यक्तिहरु अहिले ओझेलमा छन्।

२००७ सालको सशस्त्र क्रान्तिका ‘मुक्तिसेना’को व्यवस्थापन काँग्रेसका लागि धेरै ठूलो चुनौंति बनेको थियो। पटक–पटक सरकार परिवर्तन हुँदा अधिकांशको व्यवस्थापन हुन सकेन्। माओवादी जनयुद्धमा सहभागीमध्ये थोरै भए पनि मुलुकको नेपाली सेनामा समाहित त भयो। पञ्चायतको ३० वर्षको अवधिमा काँग्रेस र बामपन्थी नेताका साथै थुप्रै कार्यकर्ताहरुलाई कारागार वा निर्वासनमा बस्नु परेको थियो। २०४६ साल चैत महिनामा पञ्चायत ढलेपछि प्रजातान्त्रिक दलहरुमा पार्टी प्रवेशको लहरनै चलेको थियो। काँग्रेसमा प्रवेश गर्नेहरुलाई ‘चैते काँग्रेस’ वा पञ्चाङग्रेसको संज्ञा दिइन्थ्यो। अचेल, स्थानीयस्तरका पुराना सिद्धान्तवादी पार्टीप्रति समर्पित काँग्रेसीहरु हराए, चैते काँग्रेसीको हालीमुहाली छ। एमालेको ठीक काँग्रेसजस्तै अवस्था छ। त्यो पार्टीमा पनि ठूलो सङ्ख्यामा पञ्चहरु प्रवेश गरेका थिए।

नेकपा (माओवादी) पनि  सत्ताकेन्द्रित भएपछि पार्टीप्रति समर्पित कतिपय कार्यकर्ताहरु ओझेलमा परेको हो। मोरङको रङ्गेली नगरपालिकाको मेयर पदमा दिलिप बगडिया माओवादीको टिकटबाट निर्वाचित भएका थिए। अब, उनी एमालेमा प्रवेश गरेका छन्। उनी प्रतिबद्ध रुपमा न पहिले माओवादी थिए न अहिले नै एमाले कार्यकर्ता हुन्। उद्योगपतिलाई उम्मेद्वार बनाएमा पार्टीको जित हुनेछ भनेर अग्रवाललाई उम्मेद्वार बनाएको देखिन्छ। वर्षौंदेखि पार्टीप्रति समर्पित कार्यकर्ताको हक खोस्नु दलका नेताहरुको लागि कहाँसम्म उचित हो ? राजनीतिक दलहरु आफ्नै पार्टीका कार्यकर्तालाई उम्मेद्वार बनाउने सोच राख्नुपर्छ। सबै दलहरुले समर्पित कार्यकर्ताहरुलाई नै उम्मेद्वार बनाउने सोच राखेमा कार्यकर्तामा उत्साह थपिँने छ। भ्रष्टाचार न्यूनीकरण हुन्छ र चुनाव खर्च पनि घट्छ। ‘पिर’ नामक गीत माओवादीको जनयुद्धसँग सम्बन्धित छ। तर, नेपालमा प्रायः सबै दलहरुमा निमुखा कार्यकर्ताहरु पिरमा परेका छन्।

प्रकाशित मिति: : 2022-03-16 19:40:00

प्रतिकृया दिनुहोस्