पहिलो खेलमा पपुवा न्युगिनी (पीएनजी) विरुद्ध संघर्षपूर्ण जित निकालेको नेपालले आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृंखलामा आज संयुक्त अरब इमिरेट्स (यूएई)सँग सामना गर्दैछ।
सारजाहमा हुने खेल बिहान सवा ११ बजे सुरु हुनेछ। नेपाल शृंखलामा लगातार दोस्रो जित निकाल्ने दाउमा छ। पहिलो खेलमा नेपालले पीएनजीलाई २ विकेटले हराएको थियो।
यूएई समेत लगातार दोस्रो जित निकाल्ने योजनामा छ। उसले पहिलो खेलमा पीएनजीलाई नै ७ विकेटले पराजित गरेको थियो।
हालसम्म नेपाल र यूएई एकदिवसीय अन्तर्राष्ट्रियमा चार पटक आमने-सामने भएका छन्। जसमा नेपाल र यूएई दुबैले समान २ पटक जित हात पारेका छन्।
लिगमा यूएई १५ खेलमा ८ जित निकाल्दै १८ अंकका साथ दोस्रो स्थानमा छ। नेपाल भने ९ खेलमा १० अंक जोडेर छैटौं स्थानमा छ।