नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी स्ट्राइकर सावित्रा भण्डारी एनएसजेएफ पल्सर स्पोर्टस अवार्डमा मंगलबार दशककै सर्वोत्कृष्ट महिला खेलाडी घोषित भएकी छन्।
साम्बा उपनामले पुकारिने नेपाली राष्ट्रिय टोलीकी गोल मसिन सावित्राले ३४ खेलमा ३८ अन्तर्राष्ट्रिय गोल गरेकी छन्। क्लब फुटबलमा उनले गरेका गोलको लेखाजोखा कसैसँग छैन।
उनको क्लब सशस्त्र प्रहरी बलको एपिएफ र नेपाली फुटबलको सर्वोच्च निकाय अखिल नेपाल फुटबल संघसँग पनि। सावित्रा स्वयमलाई पनि आफूले गरेका गोलहरूको तथ्यांक थाहा छैन। त्यसैले ढुक्कसँग भन्न सकिन्छ, सावित्रा नेपाली राष्ट्रिय महिला टोलीले पाएको अहिलेसम्मकै सर्वोकृष्ट स्ट्राइकर हुन्।
सन् २०१४ देखि २०१९ को बीचमा सावित्रा प्रेरित नेपाली महिला राष्ट्रिय टोलीले ६ पटक अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताको फाइनलसम्मको यात्रा गरिसकेको छ। यस क्रममा नेपाली महिला टोली दुई पटक साफ च्याम्पियनसिप र दुई पटक दक्षिण एसियाली खेलकुद (साग) को फुटबल तथा हिरो उमेन्स गोल्डकप र नाडेजा कपमा एकरएक पटक फाइनल पुगेको थियो।
भारतीय लिग आइडब्लुएल मा दुई सिजन खेल्दा दुवै पटक उनले आफ्नो टोलीलाई च्याम्पियन बनाइन भने नेपालमा उनी सम्मिलित एपिएफले सायदै हार सामना गर्नुपरेको होला।