अखिल नेपाल फुटबल संघ (एन्फा)ले नेपाल स्पोर्ट्स एन्ड इभेन्ट म्यानेजमेन्ट प्रालि (एनइएसएम)लाई नेपाल सुपर लिग (एनएसएल) आयोजनाका लागि स्वीकृति दिएको छ।
एनएसएलले यसअघि एन्फासामु २५ चैतदेखि १० जेठसम्म मिति उपलब्ध गराइदिन माग गरेको थियो। सोहीबमोजिमको स्वीकृतिसहितको पत्र एनएसएलले पाएको छ।
एन्फाले पछिल्लो समय बढेको एनएसएलको विवाद समाधानका लागि अध्यक्ष कर्माछिरिङ शेर्पाको नेतृत्वमा सात सदस्यीय विवाद समाधान कार्यदल बनाएको थियो। कार्यदलले बुधबार बिहान असन्तुष्ट चार क्लबहरूसँग गरेको छलफलपछि स्वीकृति पत्र प्रदान गरिएको हो।
एन्फाका कार्यवाहक महासचिव अरुणमान जोशीले हस्ताक्षर गरेको पत्रमा आवश्यक स्वीकृति प्रदान गरिएको व्यहोरा उल्लेख छ।