एनआरएनएका तीन अध्यक्षको पदबहाली, शुरू भयो ६-६ महिने कार्यकाल 

तेजन खड्का

काठमाडौं

गैरआवासीय नेपाली संघ (एनआरएनए) का नवनिर्वाचित अध्यक्षहरु कुल आचार्य, डा. बद्री केसी तथा रबिना थापाले सोमबार दिउँसो संघको केन्द्रीय कार्यालयमा पद बहाली गरेका छन्।

अपरान्ह एक बजेर एक मिनटमा निवर्तमान अध्यक्ष कुमार पन्तले तीनै जना अध्यक्षहरुलाई खादा र माला लगाइ दिएर पद बहाली गराएका थिए। उनले तीनै जना अध्यक्षहरुलाई एकताबद्ध भएर आफ्नो कार्यकाल सफल बनाउन आग्रह गरे।

उक्त अवसरमा संघका नवनिर्वाचित पदाधिकारीहरु पनि उपस्थित थिए।

आइतबार अबेर संघको दशौँ महाधिवेशनले सर्वसम्मतिको आधारमा नयाँ कार्यसमिति चयन गरे पछि संघका पदाधिकारीहरु बिहान पशुपति क्षेत्र पुगेर पूजा अर्चना गरेका थिए।

नवनिर्वाचित तीनै  जना अध्यक्षलाई निवर्तमान अध्यक्ष कुमार पन्तले आइतबार राति पद तथा गोपनियताको शपथ दिलाएका थिए।

एनआरएनए चोइटिनबाट नजोगिए पनि फुटबाट जोगाउन सर्वसम्मतिमा तीनजना अध्यक्षसहित ७५ सदस्यीय जम्बो कार्यसमिति घोषणा गरिएको हो । यसअघि नै पूर्वअध्यक्ष शेष घलेले एनआरएनलाई चोइटाएर कुँवरको अध्यक्षतामा एनआरएनएको नयाँ कार्यसमिति घोषणा गरिसकेका छन्। 

घलेले आफ्नो कार्यसमितिलाई मान्यता दिन परराष्ट्र मन्त्रालयमा निवेदन दिइसकेका छन्। उनको समूहले मान्यता नपाए अदालत जाने चेतावनी पनि दिइसकेको छ। 

तर, राष्ट्रपति र प्रधानमन्त्रीसमेतको सहभागितामा एनआरएनएको विश्वसम्मेलन सम्पन्न भएकाले घले समुहले मान्यता पाउँने सम्भावना लगभग शुन्यजस्तै छ। 

प्रकाशित मिति: : 2022-03-28 23:30:00

प्रतिकृया दिनुहोस्