एनआरएनएका नवनिर्वाचित पदाधिकारीहरुले गरे पशुपतिमा पूजाअर्चना

तेजन खड्का

काठमाडौं

गैरआवासीय नेपाली संघ (एनआरएनए) का नवनिर्वाचित पदाधिकारीहरु तथा पूर्व अध्यक्षहरुले सोमबार बिहान पशुपति क्षेत्र पुगेर पशुपतिनाथको पूजाअर्चना गरेका छन्।

नवनिर्वाचित अध्यक्षद्वय कुल आचार्य, डा. बद्री केसी, पूर्व अध्यक्ष जीबा लामिछाने, निवर्तमान अध्यक्ष कुमार पन्त, उपाध्यक्षहरू महेश श्रेष्ठ, आर के  शर्मा, महासचिवद्वय डा. केशव पौडेल, गोरी राज जोशीलगायतका पदाधिकारीहरु पशुपति क्षेत्र पुगेका थिए।

नवनिर्वाचित अध्यक्ष रबिना थापा भने पशुपति क्षेत्र आउन पाइनन्। आइतबार अबेर संघको दशौँ महाधिवेशनले सर्वसम्मतिको आधारमा नयाँ कार्यसमिति चयन गरेपछि संघका पदाधिकारीहरु पहिलो सार्वजनिक कार्यक्रममा पशुपति क्षेत्र पुगेका थिए।

जीएनएनसंग कुरा गर्दै नवनिर्वाचित अध्यक्ष कुल आचार्यले आराध्यदेव पशुपतिनाथको दर्शन गरेर आफूले संसारभरि रहेका गैर आवासीय नेपाली मित्रहरुको कल्याणका साथै संघभित्र एकताका लागि प्रार्थना गरेको बताए। उनले यो सद्भाव आगामी दिनमा पनि कायमै राख्न सबैलाई आग्रह गरेका छन्।

सोमबार अपरान्ह ४ बजे बालुवाटारस्थित संघको केन्द्रीय कार्यालयमा नवनिर्वाचित पदाधिकारीहरुलाई शपथ ग्रहण गराउने कार्यक्रम छ।

नवनिर्वाचित तीन जना अध्यक्षहरूलाई भने निवर्तमान अध्यक्ष कुमार पन्तले आइतबार राति पद तथा गोपनीयताको शपथ दिलाएका थिए।

प्रकाशित मिति: : 2022-03-28 14:40:00

प्रतिकृया दिनुहोस्