कृष्णप्रसाद भट्टराई स्मृति पत्रकारिता पुरस्कार किशोर नेपाललाई

तेजेन्द्र–सुन्तली खड्का पुरस्कार कुबेर चालिसेलाई

यस वर्षको कृष्णप्रसाद भट्टराई स्मृति पत्रकारिता पुरस्कार पत्रकार किशोर नेपाललाई प्रदान गरिएको छ। 

रिपोर्टर्स क्लब नेपालले आफ्नो २४औँ वार्षिकोत्सवे अवसरमा एक लाख रुपैयाँ राशिको यो पुरस्कार पत्रकार नेपाललाई आज (बिहीबार) प्रदान गरेको हो। 

काठमाडौँमा आयोजित कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले योसहित विभिन्न विधाका पुरस्कार हस्तान्तरण गरे। 

एक लाख रुपैयाँ राशिकै तेजेन्द्र–सुन्तली खड्का स्मृति आर्थिक पत्रकारिता पुरस्कार कारोबार दैनिकका सम्पादक कुबेर चालिसेलाई प्रदान गरिएको छ। यी दुवै पुरस्कार क्लबले पहिलोपटक दिएको हो। 

क्लबले हरेक वर्ष प्रदान गर्दै आएको ५० हजार रुपैयाँ राशिको तारिणीप्रसाद कोइराला स्मृति पत्रकारिता पुरस्कार कान्तिपुर दैनिकका सहायक प्रमुख उपसम्पादक कुलचन्द्र न्यौपानेलाई प्रदान गरिएको छ। 

जनही २५ हजार रुपैयाँ राशिको वीरेन्द्र साह स्मृति पत्रकारिता पुरस्कार गोरखापत्र दैनिकका एसोसिएट एडिटर सुरेश यादव, सहिद जगतप्रकाशजङ शाह स्मृति पत्रकारिता पुरस्कार राष्ट्रिय समाचार समिति संवाददाता कृष्णराज गौतम, कृष्णसेन इच्छुक स्मृति पत्रकारिता पुरस्कार विमापोस्ट अनलाइन पोर्टलका सम्पादक नवराज न्यौपाने, उमासिंह स्मृति पत्रकारिता पुरस्कार ग्यालेक्सी फोरकेकी वरिष्ठ राजनीतिक सम्वाददाता सिर्जना घिमिरे र बाबुछिरी स्मृति फोटो पत्रकारिता पुरस्कार राससका फोटो पत्रकार रोशन सापकोटालाई प्रदान गरिएको छ।

सरोकार टेलिभिजनका सम्पादक रवि प्याकुरेल २५ हजार राशिको रिपोर्टर्स क्लब पत्रकारिता पुरस्कारबाट सम्मानित भएका छन्। 

त्यसैगरी क्रियाशील महिला पत्रकारिता पुरस्कार—२०७८ बाट रेडियो नेपालकी पत्रकार रीता बुढाथोकी, उत्कृष्ट युवा पत्रकारिता तथा कृयाशील युवा पत्रकारिता पुरस्कारबाट इमेजखबर डटकमका प्रधान सम्पादक रामेश्वर सापकोटा, प्राइम टाइम्स एचडीका न्युज एडिटर बालकृष्ण शर्मा, राजधानी दैनिकका राजनीतिक ब्युरो प्रमुख महेश गौतम पुरस्कृत भए।

न्युज एजेन्सी नेपालका क्यामेराम्यान सुरज प्रधान, प्राइम टाइम्स एचडीका रिपोर्टर तथा प्रोग्राम प्रिजेन्टर डेबिड पाण्डे, कपुरबोट मिडियाका पत्रकार सन्तोष देउजा, नेपाली रेडियो नेटवर्कका न्युज रिपोर्टर डाकमान राई र हिमालयन टेलिभ्वाइसका क्यामेरा म्यान सुप्रिम बखुन्छे जनही १० हजार रुपैयाँ राशिको पुरस्कारबाट पुरस्कृत भएका हुन्। 

प्रकाशित मिति: : 2022-04-01 00:50:00

प्रतिकृया दिनुहोस्