‘गाेर्खा वेल्फेयर ट्रष्ट’द्वारा रुकुम पूर्वकाे भूमेमा ३ वटा खानेपानी आयोजना हस्तान्तरण

Breaknlinks
Breaknlinks

रुकुम पूर्वको भूमे गाउँपालिका- ३ का गाउँहरूमा ‘गोर्खा वेल्फेयर ट्रष्ट’द्वारा निर्मित तीन वटा खानेपानी आयोजना हस्तान्तरण गरिएकाे छ। ट्रष्टले बिहीबार एक कार्यक्रममार्फत् क्याङसी र थामगाउँका स्थानीय बासीलाई खानेपानी आयोजना हस्तान्तरण गरेकाे हाे।

यसअघि सोही वडाको तुन्वाङमा निर्माण गरिएकाे खानेपानी आयोजना ट्रष्टले समुदायलाई हस्तान्तरण गरिसकेकाे थियाे।

भूमे गाउँपालिकाको समन्वयमा गोर्खा वेलफेर ट्रष्ट र स्थानीय समुदायको लगानीमा बनेका खानेपानी आयोजनाबाट कुल १ सय ४९ घरधुरीले प्रत्यक्ष लाभ पाएका छन।

ट्रष्टले आयोजना सम्पन्न गरे लगत्तै स्थानीय बासीलाई चैत्र १३ गतेदेखि १७ सम्म खानेपानी तथा सरसफाई व्यवस्थापन तालिम समेत प्रदान गरेकाे थियाे।

खानेपानी आयोजनाले क्याङसीमा ७७ घरधुरी, थाम गाउँमा २३ घरधुरी र तुन्वाङमा ४९ घरधुरीमा धारा जडान गरेको छ। भूमे गाउँपालिका अध्यक्ष रामसुर बुढा मगरको उपस्थितिमा ट्रष्टका प्राजेक्ट व्यवस्थापक वीरबहादुर पुनले उपभोक्ता समितिका अध्यक्षहरुलाई खानेपानी आयोजना हस्तान्तरण गरेका थिए।

व्यवस्थापक पुनले खानेपानी आयोजना सफलतापूर्वक निर्धारण समयमै सम्पन्न भएको बताउँदै अब यसको संरक्षण, मर्मत-सम्भार तथा सुरक्षाको जिम्मा उपभोक्तामा रहेको उनले बताए।

सरकारको ‘एक घर एक धारा’को अवधाराणाअनुसार स्थानीय सरकारको समन्वयमा यी गाउँका सबैको घर–घरमा धारा निर्माण सम्पन्न समयमै सम्पन्न गर्न स्थानीय सरकार र समुयदायको भरपुर साथ रहेकोमा सन्तोष व्यक्त गरे।

तीनै वटा आयोजनाबाट उपभोक्ताको घर–घरमा खानेपानीका धारा निर्माण भएको र धारामा स्वच्छ पानी आउँन थालेपछि स्थानीयबासी निकै हर्षित भएका छन।  र, ट्रष्टप्रति अभारी व्यक्त गरेका छन।

क्याङसीलगायत नजिकका गाउँमा लामो समयदेखि खानेपानीको चरम अभाव थियो। पुरानो खानेपानी जीर्ण अवस्थामा रहेको र यो खानेपानी परियोजनाले पानीको समस्या हल भएको भूमे गाउँपालिका- ३ का अध्यक्ष दिलमान रोकाले बताए।

गाउँपालिकाको विशेष पहल र ट्रष्टको आर्थिक र प्राविधिक सहयोगमा घर–घरमा धारा पुर्‍याउन सफल भएको समेत उनले बताए। ट्रष्टको आर्थिक र प्राविधिक सहयोगमा स्थानीयबासीले ढुंगा, गिट्टी खरिद र श्रमदानमा योगदान गरेका थिए।

खानेपानी आयोजना हस्तान्तरण तथा उद्घाटन कार्यक्रममा भूमे गाउँपालिका अध्यक्ष रासमुर बुढा मगरले ट्रष्टप्रति कृतज्ञता प्रकट गर्दै यो क्षेत्रका बासिन्दाको घर–घरमा धारा जोडिएको बताउदै अब यसको संरक्षण र नियमित सूचारु गर्नु समुदायकै दायित्व भएको बताए।

यो खानेपानी आयोजना सम्पन्नपछि लामो समयदेखिको खानेपानीको समस्या झेल्दै आएको यहाँका बासिन्दाले स्वच्छ र सफा पानी पाएको छ। यस क्षेत्रमा खानेपानीलगायत स्वस्थ्य, सडक, बिजुलीको समस्याको समाधान भएकोले अब आर्थिक समृद्धिको लागि शिक्षा, रोजगार र उद्यमीको बाटोमा लाग्न समेत बताए।

गोर्खा वेलफेयर ट्रष्टले रुकुम पूर्वको भुमे गाउँपालिकामा गुनाम, ओखरधारा, छेलोफाल्ने र खानधारामा ४ वटा परियोजना यसअघि सम्पन्न गरिसकेको छ। ट्रष्टले यस गाउँपालिकामा कुल ७ वटा खानेपानीको परियोजनामा सहयोग गरिसकेको व्यवस्थापक पुनले जानकारी गराए।

क्याङसी, टुङबाङ र थामगाउँ खानेपानी परियोजनामा क्रमश: कुल ४० लाख ८३ हजार ६ सय ५०, २७ लाख ३६ हजार, २ सय ४३ र १४ लाख १४ हजार ७ सय १९ रुपैयाँ लागत खर्च रहेको छ।

गोर्खा वेलफेयर ट्रष्ट सन् १९६९ मा स्थापना भएको बेलायती परोपकारी संस्था हो। यो गोर्खा भूतपूर्व सैनिक र उनीहरूका आश्रितहरूलाई आफ्नो मातृभूमि नेपालमा र बेलायतमा बढ्दो रूपमा सहायता प्रदान गर्ने बेलायतका प्रमुख परोपकारी संस्था मध्ये एक हो। यसले विभिन्न ठाउँका समुदायहरूलाई आर्थिक, चिकित्सा र विकास सहायता प्रदान गर्दै आइरहेका छ।

प्रकाशित मिति: : 2022-04-01 15:20:00

प्रतिकृया दिनुहोस्