सुदूरपश्चिम स्पोर्टस् अवार्ड : नवजीवन को-अपरेटिभ्सको साथ

‘एसपीए सुदूरपश्चिम स्पोर्टस अवार्ड २०७८’ मा धनगढीको नवजीवन को-अपरेटिभ्स लिमिटेड जोडिएको छ। नेपाल खेलकुद पत्रकार मञ्च कैलालीको आयोजना हुने अवार्डमा नवजीवन सहप्रायोजकको रूपमा जोडिएको हो।

नेपाल खेलकुद पत्रकार मञ्चका सदस्य विराज रोस्यारा र नवजीवन को-अपरेटिभ्स लिमिटेडका अध्यक्ष देवबहादुर बमबीच प्रायोजनसम्बन्धी सम्झौता भएको छ।

अघिल्लो संस्करणमा पनि साथ दिएको को-अपरेटिभ्सका अध्यक्ष बलमे आगामी दिनमा पनि खेलाडीहरूको हौसला बढाउने कार्यक्रमलाई सहयोग गर्ने बताए। नवजीवन को-अपरेटिभ्स लिमिटेड नेपालकै बैंकिङ कारोबार गर्ने पहिलो सहकारी हो। 

अवार्डको मुख्य प्रायोजकमा धनगढीको सुदुरपश्चिमाञ्चल एकेडेमी  छ। ‘एसपीए सुदूरपश्चिम स्पोर्टस अवार्ड’को तेस्रो संस्करणको मुख्य प्रवर्द्धकमा सुदूरपश्चिम प्रदेश खेलकुद परिषद् छ।

त्यस्तै वर्षको पुरुष खेलाडी विधालाई काठमाडाै‌ंको मास ह्युम रिर्सोस र वर्ष महिला खेलाडी विधालाई वनदेवी युवा क्लबले प्रायोजन गरेको छ। सह-प्रायोजकमा केल्मी रहेको छ। 

विभिन्न ८ विधामा दिईने अवार्डको तेस्रो संस्करणको तयारी तीव्र रूपमा भइरहेको छ। उच्च प्रदर्शन गरेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा सफल भएका खेलाडी र प्रशिक्षक गरी विभिन्न ८ विधामा अवार्ड दिइनेछ।

उत्कृष्ट खेलाडी पुरुष र महिला, उत्कृष्ट प्रशिक्षक, वर्ष युवा खेलाडी, स्पेसल अवार्ड, लाइफ टाइम एचिभमेन्ट अवार्ड, सुदूरपश्चिम आइकन महिला र पुरुष विधामा अवार्ड प्रदान गरिनेछ। 

उत्कृष्ट खेलाडी पुरुष र महिला विधाका विजेतालाई ३५/३५ हजार, उत्कृष्ट प्रशिक्षकलाई ३० हजार, वर्ष युवा खेलाडी, स्पेसल अवार्ड र लाइफ टाइम एचिभमेन्ट अवार्डका विजेतालाई २५/२५ हजार नगदबाट पुरस्कृत गरिने आयोजक नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले जनाएको छ।

यस्तै सुदूरपश्चिम आइकन महिला र पुरुष विधाका विजेतालाई नगद २० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ।

प्रकाशित मिति: : 2022-04-03 12:26:00

प्रतिकृया दिनुहोस्