प्रतिष्ठानले शिक्षक, कर्मचारी र विद्यार्थीको स्वास्थ्य बीमा गरिदिँदा परिवार समेत लाभान्वित हुँदै (भिडियो)

देशभरिका स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी, प्राध्यापक, शिक्षक, कर्मचारीको सोही संस्थामा अलगअलग ढंगबाट उपचार हुने गरेको छ।

कतिले जुनसुकै रोगको निःशुल्क उपचार गर्ने गरेको छन् भने कतिले जटिल किसिमका रोगको उपचारमा थोरै मात्रै सहुलियत दिने गरेका छन्, त कति प्रतिष्ठानमा कार्यरतको प्याकेजमै उपचार हुने गरेको छ भने कतिमा उपचारको सीमा तोकिएको छ।

यही बीचमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा काम गर्नेको उपचार कसरी गर्न सकिन्छ भन्ने छलफल र परामर्श गर्दागर्दा निस्कियो, प्रभावकारी उपाय। जसले प्रतिष्ठानमा कार्यरत एकजना व्यक्तिको मात्रै नभई उसको परिवारका सदस्यको समेत उपचार निःशुल्क हुने भयो।

त्यो प्रभावकारी उपाय नेपाल सरकारको स्वास्थ्य बीमा कार्यक्रम भएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक डा. पुजनकुमार रोकायाले बताए।

‘प्रतिष्ठानमा कार्यरत कर्मचारी बिरामी भएपछि के गर्ने भन्ने विषयमा छलफल गर्ने क्रममा नेपाल सरकार स्वास्थ्य बीमा बोर्ड अन्तर्गगत सम्पूर्ण शिक्षक, कर्मचारी तथा विद्यार्थीहरुको अनिवार्य स्वास्थ्य बीमा गरेका छौं,’ उनले भने,‘यस कार्यबाट कर्मचारी तथा विद्यार्थीहरुको परिवारका अन्य सदस्य समेत लाभान्वित हुनुहुनेछ भने जुम्लाभन्दा बाहिरका कर्मचारी तथा विद्यार्थीहरुको परिवारका अन्य सदस्यहरुले पायक पर्ने सेवा प्रदायक अस्पतालबाट सेवा लिन सक्नुहुनेछ।’

उनले प्रतिष्ठानले अपनाएको अनिवार्य स्वास्थ बीमा कार्यक्रमले कर्मचारीहरुलाई उत्प्रेरित गराई थप जिम्मेवार बनाउने अपेक्षा गरिएको बताए।

‘प्रतिष्ठानमा कार्यरत शिक्षकहरु जुम्लामा बस्न कठिनाई मानिरहेको अवस्थामा यस कार्यक्रमले केही हदसम्म भएपनि प्रोत्साहन गर्ने हामीले विश्वास लिएका छौं,’ उनले भने,‘नेपाल सरकारसँग आवद्ध शिक्षण अस्पतालहरुमध्ये कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका सम्पूर्ण विद्यार्थी तथा कर्मचारीहरुको स्वास्थ्य बीमा गर्ने पहिलो अस्पताल हो।’

उनले यस कार्यको अनुशरण अन्य अस्पताल तथा कार्यालयहरुले गर्ने पनि आशा राखिएको थपे।

उनकाअनुसार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले सरकारको स्वास्थ्य बीमा कार्यक्रमलाई सहयोग गरेको छ। गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्ने नागरिकको अधिकारको संरक्षण गर्न गठित स्वास्थ्य बीमा कार्यक्रमको प्रवर्द्धनमा सहयोग गरेको छ।

‘स्वास्थ बीमा कार्यक्रमले पूर्व भुक्तानीको माध्यमबाट बीमितको आर्थिक जोखिम न्यूनिकरण गर्न सहयोग गरेको छ। साथै स्वास्थ्य सेवा प्रदायकको दक्षता र जवाफदेहिता अभिवृद्धि गर्नमा सहयोग गरेको छ,’ उनले थपे,‘स्वास्थ्य सेवामा आम नागरिकको सहज पहुँच बनाउन स्वास्थ्य बीमा ऐन २०७४ तथा नियमावली २०७५ को कार्यान्वयनका क्रममा प्रतिष्ठानले सरकारको कार्यक्रमलाई समेत सहयोग गरेको महसुस भएको छ।’

स्वास्थ्य बीमा बोर्डले व्यवस्थाले ज्येष्ठ नागरिक र बिपन्न परिवारको लागि सरकारले नै बीमा प्रिमियम तिरिदिने गरी स्वास्थ्य बीमाको व्यवस्था गरेको छ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत सम्पूर्ण कर्मचारी, शिक्षक तथा विद्यार्थीहरुको स्वास्थ्य उपचार वापतको रकममा थप गरी प्रिमियम तिरिदिने अवधारणाले सकारात्मक सन्देश जाने विश्वास लिइएको छ निर्देशक रोकायाको मत छ।

उनकाअनुसार प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने हक छ। कसैलाई पनि आकस्मिक स्वास्थ्य सेवाबाट वञ्चित नगरिने व्यवस्था छ भने प्रत्येक नागरिकलाई स्वास्थ्य सेवामा समान पहुँचलगायत संविधानले तोकेको हकलाई प्रतिष्ठानको उक्त कार्यक्रमले थप सुनिश्चित गराएको छ।

स्वास्थ्य बीमा बोर्डको तथ्याङ्कअनुसार कर्णाली प्रदेशमा बीमा गर्ने परिवार संख्याको प्रतिशतको आधारमा जुम्ला जिल्ला पहिलो बनेको छ भने कर्णाली प्रदेशमा सेवा प्रदायक अस्पतालहरुमध्ये कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान दोस्रो स्थानमा रहेको छ।

कर्मचारी तथा विद्यार्थीहरुको अनिवार्य स्वास्थ्य बीमा गर्ने निर्णयले प्रतिष्ठान नेपाल सरकारको महत्वपूर्ण कार्यक्रम स्वास्थ्य बीमाप्रति थप जिम्मेवार बनाएको निर्देशक रोकायाले बताए।

‘नेपाल सरकारको प्राथमिकताका प्रमुख कार्यक्रम मध्येको स्वास्थ्य बीमा कार्यक्रमलाई थप सहयोग गर्न प्रतिष्ठानले अपनत्व लिएको छ,’ उनले भने, ‘यसको सन्देश गाउँ–गाउँसम्म पुग्न सके नागरिकको स्वास्थ्य बीमा प्रतिको आकर्षक थप बढ्ने हाम्रो विश्वास छ।’

जुम्ला जिल्ला भित्रका पालिकाहरुमध्ये तातोपानी गाउँपालिका र गुठीचौर गाउँलालिकाले विपन्न नागरिकहरुको पहिचान गरी प्रत्येकको स्वास्थ्य बीमा सुरुवात गरेका छन्। अन्य पालिकाहरुले पनि विपन्न नागरिकहरुको स्वास्थ्य बीमा गरिदिएको खण्डमा समुदाय स्तरमा स्वास्थ्यको पहुँच थप सरल र सुलभ हुने उनको भनाइ छ।

तर, स्वास्थ्य बीमाको दाबी भुक्तानीमा भइरहेको ढिलासुस्तिले नागरिकमा निराशा उत्पन्न गराएको छ, भने यस सम्बन्धमा बेलाबेला सुधार हुनुपर्ने गुनासाहरु आउने गरेको प्रतिष्ठानको रेकर्ड छ। तर, प्रतिष्ठानले त्यसलाई निराकरण गर्दै लगेको उनले बताए।

‘स्वास्थ्य बीमा कार्यक्रम सुरु भए पश्चात हालसम्म सम्बन्धित सरोकारवाला निकायको सकारात्मक सुझाव तथा सल्लाहलाई मनन् गरेका छौं,’ उनले भने,‘सुधार गर्ने क्रममा जनगुनासो कम हुँदै गएका छन्। तर, यतिमै सन्तुष्ट भएर हुँदैन। यसमा अझै सुधार ल्याउनु जरुरी छ भने हामी यसैका लागि प्रयत्नरथ छौं।’

दुर्गम तथा पिछडिएको क्षेत्रमा गुणस्तरीय स्वास्थ्य सेवा, स्वास्थ्य शिक्षा तथा खोजमूलक अनुसन्धान गर्ने उद्देश्यले स्थापना भएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान नागरिकप्रति उत्तरदायी हुनुका साथै कार्यरत शिक्षक कर्मचारी तथा अध्ययनरत विद्यार्थीप्रति जिम्मेवार बन्दै गएको पछिल्ला तथ्यांकहरुले बताइरहेका छन्।

प्रतिष्ठनले सुरुवात गरेको स्वास्थ्य बीमा कार्यक्रमले आवरणमा ३ सय ५६ जना लाभान्वित देखिए पनि उक्त कार्यक्रमल एक परिवारका ओैसत ५ जना लाभान्वित हुँदा झण्डै १७ सय जनाले प्रत्यक्ष लाभ लिन पाउने स्वास्थ्य बीमा बोर्ड जुम्लाका फोकल पर्सन प्रेम भण्डारीले बताए।

उनकाअनुसार हालसम्म जुम्लाका ११ हजार ५ सय ४९ घरधुरीका ५७ हजार १३ जना नागरिक स्वास्थ्य बीमाको पहुँचमा आएका छन्।

तथ्याङ्कअनुसार ५७ हजार १३ जनामध्ये ज्येष्ठ नागरिक, अति विपन्न परिवार, (क) वर्गका अपाङ्ग लगायतका झन्डै ६ हजार लक्षित वर्गले निःशुल्क स्वास्थ्य बिमाबाट लाभ लिन पाएका छन्।

प्रकाशित मिति: : 2022-04-14 14:58:00

प्रतिकृया दिनुहोस्