गठबन्धनमा ऐँचो पैँचोको अर्थ

Breaknlinks
Breaknlinks

वैशाखे गर्मीले पोखरा तातिइरहेको छ।

मौसम प्राय: चिसो रहने पोखरा बेलाबेला तातिइरहन्छ। विभिन्न घटनाको विकासक्रमलाई लिएर पोखराको चर्चा राजधानीसम्मै पुग्छ। सधैं होइन, कहिलेकाही पोखरा तात्छ। 

०००

स्थानीय तहको निर्वाचन नजिकिँदै छ।

सत्ता स्वार्थका लागि राजनीतिक खिचातानी ब्यापक बढेको छ। पोखरामा मात्रै होइन। सिँगो देशलाई नै यतिबेला चुनावको रन्को लागेको छ। चुनाव लागेको छ।

मुख्य तीन राजनीतिक दल एमाले, कांग्रेस, माओवादी। पछिल्लो समय एमालेबाट टुक्रिएर गठन भएको समाजवादी पार्टीको पोखरा महानगर प्रमुख पदको लागि दाबेदारी गरिरहेका छन्। देशैभरि बहस चलिरहेकाे स्वतन्त्र उम्मेदवारी घोषणाको अभियानलाई छोडेर।

उसो त देशको सबैभन्दा ठूलो भूगोल पोखराको नेतृत्व हात पार्ने होडमा लाग्नु स्वभाविक हो। शक्तिको लाल्चा त सबैलाई भई नै हाल्छ। पोखरामा पनि त्यो होड व्यापक बढेको छ। चुनावी तालमेल गरेर अघि बढ्ने निधो गरेका कांग्रेस, माओवादी र समाजवादी पार्टीमध्ये, तीनै पार्टीले पोखरा महानगरमा आफ्नो दाबा बोलिरहेका छन्। पोखरा महानगर प्रमुखको उम्मेदवारी आफ्नो पक्षमा पार्न चर्को अडान यतिबेला यी तीन राजनीतिक दलहरुले बोलिरहेका छन्।

प्रमुख प्रतिपक्ष एमालेले आंकाक्षीको नाम दर्ता लिइरहँदा गठबन्धन भने भाग हात पार्ने दौडमा छ। तीन दलमध्ये पोखरा महानगरमा संयुक्त एक जना उम्मेदवार चुनावमा होमिने सहमति भए पनि पोखरा महानगरमा कसको दाबा बलियो हुने टुंगो लाग्न सकिरहेको छैन। हुन त गठबन्धनबीच चर्को दाबेदारी भरतपुर महानगरपालिकामा पनि छ।

खैर, पोखरा महानगरपालिकाको हकमा कुरा गर्दा तीन दल सजिलै दाबेदारी छोड्ने पक्षमा भने छैनन्। पोखरा महानगर माओवादी नेता विश्वप्रकाश लामिछानेले कांग्रेसले पैँचो तिर्नुपर्ने अडान लिएर हिँडिरहेका छन्। अघिल्लो निर्वाचनमा पोखरा महानगरमा माओवादीले कांग्रेसलाई सघाएकै कारण यसपाली स्वभाविक रुपमा महानगर प्रमुखमा माओवादी नगर प्रमुखको हकदार रहेको उनले तर्क राख्दै आएका छन्।

उता समाजवादीका नेता धनराज आचार्यले पनि महानगर प्रमुखमा गठबन्धनबाट बलियो दाबेदारी गरि रहेका छन्। कांग्रेस नेताहरु भने आफ्नो मतदाता बढी भएकाले पनि महानगरको नेतृत्व आफरुहरुले पाउनुपर्ने अडानमा छन्।

राजनीतिको खेल नै अनौंठो पोखरा महानगरमा माओवादीले सघाएका कांग्रेसका रामजी कुँवर भारी मतले पराजित बने। उता भरतपुर महानगरपालिकाका माओवादी अध्यक्ष प्रचण्ड पुत्री रेणु दाहाल भारी मतले महानगर प्रमुखका रुपमा विजयी भइन्। चुनाव हो, अघिल्लो चुनाव जस्तै यो चुनाव पनि पक्कै रोचक हुने पक्कापक्की छ। 

अहिले टिकट हात पार्न लबिङ गर्दै नेताहरु काठमाडौंको दौडमा छन्। हाइवेमा को पछि पर्छ कुन अघि पुग्छ ? त्यो भने हेर्न बाँकी नै छ। यता दिँदा, उता भत्किने। उता दिँदा यता भत्किने भयका बिच गठबन्धनको सुईं घुमिरहेको छ।

गठबन्धनको यो ऐँचो पैँचोलाई राजनीतिक विश्लेषकहरु चुनाव हारिने भयका रुपमा लिन्छन्। चुनाव हारिने डरमा गठबन्धनका तीनै दल तर्सिरहेका छन्। त्यसैले पनि गठबन्धन आवश्यक छ। तर, शक्ति पनि हात पार्नु छ।

पोखरामा रहेर राजनीतिक विश्लेषण साथै प्रध्यापन गरिरहेका कपिलमणी दाहालले नेताहरुबिच चुनाव हार्ने संशयले गठबन्धन गर्न बाध्य भएको धारणा राख्छन्।

‘हाम्रो संविधान हेर्ने हो भने स्थानीय सरकार गठबन्धन, समीकरणको जरुरी छैन नै भन्ने लाग्छ,’ उनले भने,‘किनभने, स्थायी सरकारको यसले व्यवस्था गरेको छ। जसले १ भोटले लिड गर्छ, उसले नेतृत्व गर्छ। उसलाई अविश्वासको प्रस्ताव पनि आउँदैन।’

संविधानत मेयर, गाउँपालिका प्रमुख र वडा प्रमुखहरु अर्को दलबाट प्रतिनिधित्व गरे पनि बहुमतको आधारमा अविश्वास प्रस्ताव गर्न मिल्दैन।

‘स्थानीय सरकारमा आफैं मिल्ने व्यवस्था छ। किनभने, बहुमतको आधारमा वडाध्यक्ष एकातिर, मेयर अर्कोतिर भए पनि हटाउन मिल्दैन,’ उनले भने,‘त्यस्तो खालको गोभर्मेन्टको यसले कल्पना गरेको छ। प्रत्याभूति पनि गरेको छ।’

संविधानले सार्वभौम सरकारको रुपमा स्थानीय सरकार परिकल्पना गरे केन्द्रदेखि स्थानीय तहसम्म पनि शक्ति सन्तुलन गरेर अघि बढ्न गठबन्धन गर्नुपर्ने अवस्थामा नेताहरु छन्। संघ र प्रदेश सभाको चुनावमा गठबन्धन कायम राख्नकै लागि पनि स्थानीय सरकारमा चुनावी गठबन्धन गर्नुपरेको उनले अथ्र्याए।

यता, पोखरा महानगर प्रमुख कांग्रेसले नछोड्ने भन्दै सभापति शेरबहादुर देउवालाई भेट्न काठमाडौं पुगेका नेताहरुलाई देउवाले चुनावी सन्तुलन मिलाउनका लागि भए पनि लचिलो हुनुपर्ने अवस्था रहेको बताएको खबर बाहिरिएको छ। अघिल्लो चुनावमा कांग्रेसले ब्यहोरेको पराजय पूर्ति गर्नका लागि पनि नरम हुनुपर्नेमा कांग्रेस नेतृत्व पुगेको छ। अब समाजवादी र माओवादी के भन्छन् ? हेर्न बाँकी छ।

प्रकाशित मिति: : 2022-04-15 11:22:00

प्रतिकृया दिनुहोस्