पोखरामा जारी राष्ट्रिय भेट्रान्स कप ९ ए साइड फुटबल प्रतियोगितामा एकैदिन ६ खेल भएका छन्। पहिलो खेलमा संगम बीले वोलुङ ठमेललाई ३–१ गोल अन्तरले हरायो।
संगमका लागि नरेन्द्रजंग गुरुङले २४ र ४१ मिनेटमा गरी दुई गोलको योगदान दिए भने वोलुङका लागि महेन्द्र गुरुङले ४८ मिनेटमा गोल गरेका थिए। दोस्रो खेलमा फ्रिडम फाइटरले हेटौंडा भेट्रानलाई ३–० गोल अन्तरले पराजित गरेको थियो।
फ्रिडमका लागि राजकुमार घिसिङले १६ र ५१ औं मिनेटमा गोल गरे भने विक्रम श्रेष्ठले ४१ औं मिनेटमा एक थपे। हेटौडाको नागसोती भेट्रानलाई जोरपाटी भेट्रान काठमाडौंले २–१ गोलअन्तरले हरायो। रञ्जित लामा र निमा लामाले जोरपाटीका लागि एक/एक गोल गर्दा नागसोतीका लागि सुलभजंग राणाले सान्त्वना गोल फर्काए।
ठमेल एमफसीलाई चितवन भेट्रानले २–० गोलले हरायो। चितवनका लागि भरत गुरुङ र सुरेन्द्र चौधरीले ३४ र ४७ औं मिनेटमा गोल गरे। सानो गौचरनले पोखराको लेकसाईड भेट्रानलाई ३–० गोलले पराजित गर्यो। सागर थापाले दुई र शुक्र तामाङले एक गोल। सागर प्लेयर अफ दि म्याच घोषित भए। भेट्रान टिमको अनुपस्थिति भएपछि मनाङ मर्स्याङ्दी क्लबले वाकओभर पाएर अघिल्लो चरणमा प्रवेश गरेको छ।
गण्डकी प्रदेश सरकारको आयोजनामा प्रतियोगिता भएको हो। प्रतियोगितामा विजेता टोलीले नगद ३ लाख रुपैयाँ प्राप्त गर्नेछन्। दोस्रो हुनेले १ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछन्। यस्तै, सेमिफाइनल पुग्ने टोलीले पनि ३०÷३० हजार नगद पाउने आयोजकले जनाएको छ। प्रतियोगितामा ४० देखि ६० वर्ष उमेर समूहका खेलाडीहरू सहभागी छन्।