‘ट्याङ्चलाक’ले कोरेको भाषिक फिल्मको फराकिलो बाटो

Breaknlinks
Breaknlinks

भाषिक फिल्म भन्ने बित्तिकै तपाईंको मष्तिष्कमा के आउला ?

कुनै जाति विशेषलाई आधार बनाएको फिल्म।

‘मगर भाषाको फिल्म’ ‘गुरुङ भाषाको फिल्म’

त्योभन्दा बेसी केही आउँछ ?

अँह ! त्योभन्दा बढी चित्र सम्झनामै आउँन्न।

मुलधारले स्वीकार्न नसकेको। सधैं समुदायको साँघुरो घेराभित्र सीमित छ, भाषिक फिल्मको सीमारेखा। त्योभन्दा माथि उक्लेर मुलधारका भनिएका फिल्मको दाँजोमा लागेको यो पंक्तिकारले सुनेको छैन। देखेको छैन।

०००

केही महिनाअघि चलचित्र निर्माता समेत रहेका निर्देशक मेजन पुन मगरले फेसबुक पेजमा पोष्ट गरे,‘मेरो लेखन तथा निर्देशनमा बनेको फिल्म ‘ट्याङ्चलाक’ साउथ अफ्रिकामा आयोजना हुने डर्बान इन्टरनेशनल फिल्म फेस्टिभलमा अफिसियल छनाेटमा परेको छ। सबै कलाकार र प्राविधिक टिमलाई धन्यवाद।’

३ सय बढी अन्तर्राष्ट्रिय कोटीका फिल्मसँगको प्रतिस्पर्धामा नेपाली फिल्म छनाेटमा पर्नु आफैंमा सुखद खबर थियो। त्यसमा पनि अझ भाषिक फिल्मले अन्तर्राष्ट्रिय फिल्मीवृतमा छनाेट हुनु मात्रैले पनि धेरै अर्थ राख्छ।

हो, साँघुरो सीमा पार गर्दै अन्तर्राष्ट्रिय आँगनमा भाषिक फिल्मले पाइला राख्नुलाई निकै अर्थपूर्ण थियो। सामाजिक सञ्जालमा यसलाई धेरैले सकारात्मक रुपमा लिए। बधाईको ओइरो नै लाग्यो। सामाजिक सञ्जालबाटै मैले पनि फिल्मका लेखक, निर्देशक मेजन पुनमगरलाई बधाई दिएँ।

ट्याङ्चलाकको यात्रा यत्तिमै सिमित रहेन। डर्बान फिल्म फेस्टिभलमा छनौटमा परे लगत्त नेपाल इण्डिजिनियस फिल्म फेस्टिभल, युएसएमा पनि फिल्म छनौटमा पर्‍यो। त्यसपछि लगालग अन्तर्राष्ट्रिय स्तरका ७ वटा फिल्म फेस्टिभलमा छनाेटमा परेको छ। त्यसमध्ये वल्र्ड फिल्म कार्निभल सिंगापुर, टोक्यो फिल्म फेस्टिभल जापान र गान्तोक अन्तराष्ट्रिय चलचित्र महोत्सवको उपाधिनै हात पारिसकेको छ।

उनै मेजन पुनमगरले अर्को छोटो चलचित्र निर्माण गरेका रहेछन्, परिबन्द। यो चलचित्र पनि मगर विषयवस्तुमा निर्माण भएको रहेछ। यो छोटो चलचित्र परिबन्दले पनि स्पाईनी बाब्लर अन्तराष्ट्रिय चलचित्र महोत्सवबाट खाता खोलेर लगालग अन्य ६ वटा अन्तराष्ट्रिय चलचित्र महोत्सवहरुमा छनाेट हुन सफल भयो। र, अन्तराष्ट्रिय चलचित्र महोत्सवमा चलचित्र छनाेट भएकोमा सामाजिक सञ्जालमा मेजन पुनमगरलाई फेरि बधाईको ओइरो लाग्न थाल्यो। यो चलचित्रले भारतमा आयोजना भएको कुक्कु अन्तराष्ट्रिय फिल्म अवार्ड (वेष्ट बंगाल), भर्जिन स्प्रीङ सिनेफेष्ट तमीलनाडु र टेगोर अन्तराष्ट्रिय चलचित्र महोत्सवमा अवार्ड जित्न सफल भयो। यसरी भाषिक फिल्मले एकपछि अर्को गर्दै अन्तर्राष्ट्रिय स्तरका फिल्म फेस्टिभलमा स्थान पाउनु पनि ठूलो उपलब्धिको रुपमा लिएको छ, यो पंक्तिकारले।

राज्यसत्ताको दमनमा सोझा आदिवासी

सानोमा आमाले भनेको सुनेको थिएँ, ‘यो गाउँमा जहिले पनि घाँस दाउराको दुःख। धन्न पानीको धारा भने आयो।’ त्यो बेला मेरो घरमा बस्तुभाउ अलि बढी नै थियो। अहिले पनि छ। परिवार ठूलो भएकाले सबैलाई काम पुर्‍याउन पनि बस्तुभाउ धेरै पाल्नुपर्ने बाध्यता थियो।

आमाले पानीको अभाव भएकै कारण वल्लोपल्लो गाउँका कतिपय मान्छेहरु पानी पाइने ठाउँतिर बसाईं सरेको पनि सुनाउनुहुन्थ्यो। घाँस दाउराको दुःखले हाम्रै गाउँबाट पनि कति मान्छेहरु बसाइँ सरेर गए। आज पनि सुखको खोजीमा सजिलो ठाउँ खोजी हिँडिरहन्छ, मान्छे। यो हामी कहाँ मात्रै होइन। अरु ठाउँमा पनि लागू हुन्छ। यो चलि आएकै रीति हो।

तर, राज्यसत्ताबाट उपेक्षामा परेकाहरुको हकमा भने अलि फरक छ। सोझा जनतालाई तड्पाएर, बाध्य पारिनु गलत हो। भोलि पनि गलत हुनेछ।

हो,‘ट्याङ्चलाक’ले यही कथा बोकेको छ।

तनहुँको मानुङकोट। जो पर्यटकीय हिसाबले उचाई उक्लिदै छ। धेरैको मन लोभ्याएको छ। पोहोर साल खुबै भाइरल थियो, मानुङकोट। दमौली बजारमाथि बादल डम्म ढाकिएको। त्यसमाथि सूर्योदय हुँदा त सबै जना कायल नै भए।

दमौली बजारबाट हिँडेर डेढ घण्टा, साधनमा गए करिब ३० मिनेट माथिपट्टीको यो डाँडोबाट बादलको महासागर हेर्न सबै लालायित भए। तलदेखि माथि पुगुञ्जेल यो दृश्य हेर्न बिहानैदेखि लाम नै लाग्यो। सामाजिक सञ्जालदेखि विभिन्न मिडियामा प्रथम पृष्ठमा राम्रो स्पेश पनि पायो।

यति सुन्दर ठाउँको भित्री कथा भने छुट्टै छ।

बजारदेखि नजिक रहेर पनि दुरको भएको मानुङकोटमा केही वर्षअघि मगर बस्ती थियो। खानेपानी र स्वास्थ्य उपचारका लागि ठूलो सास्ती। डेढ, दुई घण्टा हिंडेर एक गाग्री पानी पाइने ठाउँ थियो, मानुङकोट। बाटो पनि पुगेको थिएन। बाटो नपुगेपछि अन्य विकासका पूर्वाधार पुग्ने त कुरै आएन।

भोक, रोगले आत्तिएका यहाँका सोझा आदिवासी सजिलाको लागि बसाइँ सर्न थाले। हुँदाहुँदै सिंगो गाउँ नै रित्तियो। र, अन्त्यमा घरहरु मात्रै बाँकी रह्यो।

त्यही ठाउँ अहिले सबैको आँखामा परेको छ। सामरिक हिसाबले अहिले यो ठाउँले निकै सम्भावना बोकेको छ। खानेपानी, बिजुली बत्तिदेखि सडक सञ्जालसमेत पुगिसकेको यो ठाउँमा यो सुख भोग गर्ने यहाँका आदिवासी छैनन्। अहिले दलालहरुको कब्जामा छ, यो ठाउँ। जबकी, यहाँका आदिमबासीहरु रोग र भोकले यहाँबाट लेखिटए। राज्यसत्ताले लेखिट्न बाध्य बनायो।

विस्थापनको कथा बोकेको ट्याङ्चलाकले अन्तर्राष्ट्रिय आँगन टेक्नुपथ्र्यो टेकेको छ। अरु, पनि थुप्रो उपाधि हात पार्नुपर्छ यो फिल्मले। ट्याङ्चलाकले भाषिक फिल्मलाई अन्तर्राष्ट्रिय फिल्मसँग जोड्ने पुल त बनेको छ नै ! नेपाली फिल्मलाई अन्तर्राष्ट्रिय बजारसामु थप सम्भावनाका ढोका पनि खोलिदिएको छ। यो भाषिक मात्रै होइन। मुलधारका फिल्म र फिल्मकर्मीका लागि पनि सुखद पक्ष हो।

प्रकाशित मिति: : 2022-04-30 19:25:00

प्रतिकृया दिनुहोस्